भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

  ।   २०७७ फाल्गुन १३, बिहीबार ०७:१२

एजेन्सी । भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ ।

त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिनुभएको हो ।

सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् ।

निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन÷चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री जवादेकरले जानकारी दिनुभयो । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएको तथ्याङ्क छ ।
कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुकहरुको अग्रपङ्क्तिमा पर्ने भारतले गत जनवरी १६ देखि पहिलो चरणको खोप अभियान सुरु गरेको हो । दोस्रो चरणमा लगाउनका लागि हामीसँग झण्डै १४ लाख खोप तयारी अवस्थामा रहेको छ, यो खोप अधिकांश वृद्धवृद्धालाई नै दिइने छ, मन्त्री जवाडेकरले भन्नुभयो ।

उहाँका अनुसार भारतमा पहिलो चरणमा स्वास्थ्यकर्मीसहित अग्रपङ्क्तिमा खटिएका व्यक्तिहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो । भारतमा प्राथमिकता क्रम निर्धारण गरेर खोप लगाउने गरिएको छ । भारत आफैँले उत्पादन गरेको खोप लगाउने अभियान चलिरहे पनि कोरोनाबाट मृत्यु हुनेक्रम रोकिएको छैन ।

भारतले आफूले उत्पादन गरेको खोप आफ्ना नागरिकसँगै विश्वका धेरै देशलाई पनि प्रदान गरेको छ । यसले अन्तर्राष्ट्रिय जगतमा भारतको छवि थप राम्रो भएको छ ।

 

– रातोपाटी

Next Post

घरमै बसेर माटो परीक्षण गर्न सकिने

२०७७ फाल्गुन १३, बिहीबार ०७:१२
काठमाण्डौ । सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्त्व वा गुणहरु देखाउनका लागि जी।पी।एम।का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । यो नक्साको बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । कृषि मन्त्रालयकाअनुसार देशभरको माटोको डिजिटल नक्सा […]