गरिब तथा विपन्न बस्तीमा सफा खानेपानी पाउँदा स्थानीय हर्षित

एकै दिन १० वटा धारा हस्तान्तरण

  ।   २०७७ फाल्गुन ९, आईतवार १४:१५

प्रेम विश्वकर्मा, नेपालगंज ।

‘पानी पीउँदा गन्हाउने, लुगा धुँदा पहेँलो हुने’ कारणले सन्जु थारु समस्यामा हुनुहुन्थ्यो । करिब ३० फुट तल जमिनबाट निकालीएको पानी आर्सेनिक युक्त भएपछि उहाँ मात्रै नभई सन्जुका धेरै जना छिमेकी सफा खानेपानीको खोजीमा थिए ।

तर आर्थिक समस्याले गर्दा उनीहरुको सफा खानेपानी पीउँने इच्छा र आवाश्यकता पुरा हुन सकेको थिएन ।

यतिबेला भने घर नजिक १ सय ३५ फुट तल जमिनबाट निकालीएको सफा पानी निर्धक्क साथ लिन पाउँदा सन्जु थारु र उहाँका छिमेकीहरु हर्षित भएका छन ।

सन्जु थारुले भन्नुभयो, ‘यो पानी मलाई एकदम सफा लागेको छ । कुनै गन्ध मानेको छैन, लुगा धुँदा पहँेलो भएको छैन ।’

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ संगमबस्ती १ नम्बर टोलकी सन्जु थारु लगायत संगमबस्तीकै अन्य चार वटा टोल २, ३, ४, र ५ का केही स्थानीयले अबदेखी नियमित सफा पानी पीउँन पाउने भएका छन ।

जसका लागी अति विपन्न, गरिब तथा भूमिहीन, सुकुम्बासी बस्तीका जनतालाई स्वच्छ, सफा पीउँने पानी उपलब्ध गराउने लक्ष्यका साथ ग्रेस कम्युनिटी नेपालले खानेपानी धारा सहयोग गरेको छ ।

स्थानीय समुदायको प्रत्यक्ष जनसहभागीतामा सफा खानेपानी धारा जडानको कार्य सम्पन्न भएपछि शुक्रबार हस्तान्तरण गरिएको हो ।

धारा हस्तारन्तरणका लागी ग्रेस कम्युनिटी नेपालका अध्यक्ष शेर बहादुर बोहरा, सल्लाहकार ज्योति बोहरा, स्थानीय समन्वय कर्ता इन्द्र बिक लगायतको टोली गाउँबस्ती सम्मै पुगेको थियो ।

धारा हस्तान्तरणको कार्यक्रममा पुग्नुभएका गुलरिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष टंक प्रसाद अधिकारीले ‘लगानी तपाईको, नाम मेरो’ भन्दै खानेपानी धारा सहयोगको प्रशांसा गर्नुभयोे ।

अति विपन्न बस्तीमा आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै वडा अध्यक्ष अधिकारीले वडाको तर्फबाट समन्वय र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैगरी ग्रेस कम्युनिटी नेपालले वडा नम्बर २ कै पण्डितपुरमा रहेको नगर स्वास्थ्य केन्द्रमा एक थान, वडा नम्बर ४ को वागेश्वरी फाँटामा एक थान खानेपानी धारा जडान गरी हस्तान्तरण गरेको छ ।

उता बढैयाताल गाउँपालिका वडा नम्बर ६ सियोन टोल, उत्तर टोल भदोई र वडा नम्बर ७ को प्रगती नगर टोलमा पनि ३ थान खानेपानी धारा जडान गरी हस्तान्तरण गरिएको छ ।

ग्रेस कम्युनिटी नेपालका अध्यक्ष शेर बहादुर बोहराले स्थानीय समुदायको आवाश्यकता र मागलाई अध्ययन गरेर खानेपानी धारा उपलब्ध गराईएको बताउनुभयो ।

चालु आर्थिक बर्षको हालसम्म गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिका अन्र्तगत पर्ने पानीको पहुँचभन्दा टाढा रहेका विभिन्न ग्रामिण बस्तीमा १० वटा खानेपानी धारा उपलब्ध गराईसकिएको उहाँले बताउनुभयो ।

Next Post

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पेश

२०७७ फाल्गुन ९, आईतवार १४:१५
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आज पेस भएको हो । प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो । प्रस्ताव पेश भएसँगै बैठक २० फागुनसम्मका […]