भेरी अस्पतालका विपद वार्ड खाली

  ।   २०८० कार्तिक २७, सोमबार २१:१२

नेपालगन्ज । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थ्ति भेरी अस्पतालमा उपचारका लागि ल्याइएका बिरामी निको भएर डिस्चार्ज भएपछि डिजास्टर (विपद) वार्ड खाली भएको छ ।

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहज होस् भनेर उहाँहरुको मात्र उपचारका लागि अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर डिस्चार्ज हुँदै घर फर्कन थालेपछि उक्त वार्ड खाली गराइएकोे जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

अब बाँकी उपचाररत ६ जना मात्र भूकम्पका घाइतेहरु रहनुभएको र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको पेइङ्ग वार्डमा राखेर उपचार गरिरहेको श्रेष्ठले बताउनुभयो ।

आज सोमबार मात्र दुई जना बिरामी निको भएर डिस्चार्ज भएर घर फर्कनुभएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । सोमबार रुकुमपश्चिम्का १० वर्षीय बालक जगदिश दमाई र जाजरकोटका ४८ वर्षीय विमलकुमार कार्की डिस्चार्ज हुनुभएको उहाँले बताउनुभयो ।

आज डिस्चार्ज हुनुभएका जाजरकोटका विमलकुमार कार्की भूकम्पका कारण घाइते भई उपचारका लागि ल्याइनुभएका पहिलो बिरामी रहनुभएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । घाइते कार्कीलाई कात्तिक १८ गते विहान ९ बजे उपचारका लागि भेरी अस्पतालको इमर्जेन्सी वार्डमा ल्याइएको थियो ।

आइतबार पनि अस्पतालबाट उपचारपश्चात निको भई थप ६ जना घाइते विरामी डिस्चार्ज भएर आफनो घरतर्फ प्रस्थान गर्नुभएको थियो । आइतबार जाजरकोटका चारजना र रुकुमपश्चिम्का दुई जना गरी ६ जना भूकम्पका घाइते बिरामीहरु उपचारपश्चात् निको भई डिस्चार्ज भएर घर जानुभएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दुई जना पुरुष र चार जना महिला आइतबार डिस्चार्ज हुनुभएको हो ।

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइनुभएका ५८ जनामध्ये यसअघि ४६ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसक्नुभएको छ । आजसमेत गरी ४८ जना बिरामी निको भएर डिस्चार्ज हुनुभएको छ । अब भेरी अस्पतालमा ६ जना मात्र बिरामी उपचाररत रहनुभएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

डिस्चार्ज भएर घर फर्किनुभएका बिरामीलाई घरसम्म पुग्न एमडीएम फ्रान्सले निःशुल्क गाडीको व्यवस्था गरिदिएको छ । बाँके युनेस्को क्लबको सहयोगमा जनही २५ किलो चामल, ५ किलो दाल र २ लिटर तेलसँगै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले १–१ सेट त्रिपाल, २–२ वटा कम्बल र १–१ कार्टुन मिनरल वाटर प्रदान गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

Next Post

राप्तिसोनारीमा किन संचालन गरिन्छ ´डिग्रे मेला`

२०८० कार्तिक २७, सोमबार २१:१२
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा मेला सञ्चालन हुनेभएको छ । स्थानीय कला संस्कृतिलाई संरक्षण एवम् प्रवर्धन गर्न मेला सञ्चालन गर्न लागिएको हो । राप्तीसोनारी गाउँपालिका-२ टिकुलीपुरमा आगामी मंसिर १० देखि ‘डिग्रे मेला’ सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमारो केसीले जानकारी दिनुभयो । हरेक वर्ष सिद्ध साइकुमारी मन्दिर परिसरमा […]