नेपाली कांग्रेसको १४ औँ महाधिवेशन ६ महिना पर धकेलियो

  ।   २०७७ फाल्गुन ५, बुधबार १८:५९

संवाददाता
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन ६ महिना पर धकेलिएको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मितिको प्रस्ताव पेस गरेपछि बिहीबार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिनुभयो ।

प्रवक्ता विश्वप्रकाश शर्माले भदौको ७ देखि १० गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

बैठकअघि बसेको शीर्ष नेताको बैठकले भदौको ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी साझा प्रस्ताव तयार गरेको थियो ।

‘बैठकले केन्द्रीय समितिसँगै केन्द्रीय समिति, ७७ वटै जिल्ला कार्यसमिति, एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रीय समिति, तीन सय ३० प्रदेश समिति र सात सय ५३ वटा गाउँनगर समिति तथा वडा समितिहरुको कार्यकाल ६ महिनाका लागि थप गरेको छ,’ प्रवक्ता शर्माले भन्नुभयोे, ‘त्यही मितिभित्र पूरा गर्ने गरी १४ औँ महाधिवेशनको मिति र कार्यतालिकासमेत प्रस्ताव गरिएको छ ।’

कांग्रेसले संविधानको धारा २६९ को उपधारा (४) (ख) बमोजिम आगामी महाधिवेशनबाट पारित गर्ने गरी बैठकले विधान संशोधन गरेर ६ महिना कार्यकाल थप गरेको हो ।

गुटगत छलफलबाट महाधिवेशनका विषयमा साझा प्रस्ताव तयार गरी करिब तीन घन्टा ढिला गरी बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यकाल थप गर्ने, क्रियाशील सदस्यता नवीकरण, वितरण र छानबिन तथा महाधिवेशनको कार्यतालिका सम्मको प्रस्ताव गर्नुभएको छ ।

महामन्त्री खड्काले ७ असारभित्र क्रियाशील सदस्यताको छानबिन टुंग्याउने र अन्तिम नामावली प्रकाशन गर्ने साझा प्रस्ताव गर्नुभएको हो ।

यस्तै, उहाँले २० असारमा गाउँ–नगर वडाको अधिवेशन गर्ने, २२ गते पालिकास्तरीय समितिको अधिवेशन गर्ने, २५ असारमा प्रदेश सभा क्षेत्रीय समितिको र २७ असारमा प्रतिनिधिसभा क्षेत्रीय समिति तथा एक मात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ३० असारमा गर्ने प्रस्ताव गर्नुभएको छ ।

सात प्रदेश समितिको अधिवेशन साउन ६ गतेका लागि प्रस्ताव गरिएको छ ।

यस्तै भदौको ७, ८, ९ र १० गते काठमाडौंमा १४ औँ महाधिवेशन गर्ने प्रस्ताव बैठकमा छलफलका लागि प्रस्तुत भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

नयाँ पत्रिकाबाट

Next Post

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा नयाँ ब्यक्ति नियुक्त

२०७७ फाल्गुन ५, बुधबार १८:५९
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गर्नुभएको छ । उहाँले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो । उहाँले जनसम्पर्क सल्लाहकारमा विष्णु बहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्ण प्रसाद आचार्य र स्वकीय सचिवमा रवीन्द्र शाहीलाई नियुक्त गरिएको बताउनुभयो । […]

सम्बन्धित समाचार