सचिवालय बैठक बोलाउन पाँच सचिवालय सदस्यले बुझाए ओलीलाई लिखित पत्र

  ।   २०७७ कार्तिक २२, शनिबार १७:२०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाउनुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र श्रेष्ठले तत्काल बैठक बोलाउन लिखित माग गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘सकभर भोलि नभए पर्सीसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौं र पार्टीलाई एकताबद्ध बनाउने, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकालौं भनेर अनुरोध गरिएको हो ।’

कोभिड–१९ ले पैदा गरेको स्वास्थ्य संकट, जनतामा देखापरेको समस्या, आर्थिक संकटलगायतका विषयमा छलफल गर्न बैठकको माग गरिएको श्रेष्ठले बताउनुभयो ।

यस्तै, स्थायी कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन अगाडि बढ्न नसकेको अवस्थाको समीक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यकारी अध्यक्ष दाहालले पटक–पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै शनिबार लिखित अनुरोध गरिएको श्रेष्ठको भनाइ छ ।

बैठक बस्नेबारेमा भने ओलीले शनिबार निष्कर्ष नदिएको उहाँले बताउनुभयो ।

यसअघि, शनिबारै बिहान कार्यकारी अध्यक्ष दाहालसहितका सचिवालय सदस्यहरुको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो ।

Next Post

बाँके जिल्लामा कोरोना सङ्क्रमितको संख्या तीन हजार तीन सय नाघ्यो

२०७७ कार्तिक २२, शनिबार १७:२०
बाँके । बाँके जिल्लामा कोभिड– १९ (कोरोना भाइरस) सङ्क्रमितको संख्या तीन हजार तीन सय नाघेको छ । गएको २४ घण्टामा ५६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या तीन हजार तीन सय ९२ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । यस्तै गएको २४ घण्टामा ३५ जना […]