एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ।
बुधबार राति भएको समूह ‘एच’ को खेलमा युनाइटेडलाई टर्किस क्लब इस्तानबुल बशाक्षेहिरले २–१ गोलले पराजित गरेको हो।
इस्तानबुलका लागि डेम्बा बाले खेलको १२ मिनेटमा पहिलो गोल गरेका थिए। ४० मिनेटमा भिस्काले इस्तानबुलको अग्रता दोब्बर पारे।
४३ मिनेटमा युनाइटेडका लागि मार्सियलले गोल फर्काए। पहिलो हाफ इस्तानबुलले २–१ गोलको अग्रता लिएको खेलको दोस्रो हाफमा कुनै गोल हुन सकेन।
यो समूहको अर्को खेलमा फ्रेञ्च च्याम्पियन पिएसजी पनि पराजित भएको छ। पिएसजीलाई जर्मन क्लब आरबी लाइपजिगले २–१ गोलले पराजित गरेको हो।
खेलको छैटौ मिनेटमा डी मारियाले गोल गरेर पिएसजीलाई अग्रता दिलाएका थिए। तर लाइपिजका लागि एनकुन्कुले ४१ मिनेट र फोर्सबर्गले ५७ मिनेटमा पेनाल्टीमार्फत गोल गरे।
खेलको ६९ मिनेटमा इद्रीसा गुयेले दोस्रो पहेँला कार्ड पाउँदा पिएसजी १० खेलाडीमा सीमित भयो। दोस्रो हाफको इन्जुरी टाइममा किमपेम्बेले पनि दोस्रो पहेँलो कार्ड पाएका थिए। जसका कारण पिएसजी खेल सकिदा ९ खेलाडीमा सीमित बनेको थियो।
समूहमा हारपछि पनि युनाइटेड ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको लाइपजिगको पनि ६ अंक भएको छ। पिएसजी र इस्तानबुलको ३-३ अंक छ।
यता समूह ‘ई’ को खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब रेनेसलाई ३–० ले हराएको छ। चेल्सीका लागि टिमो वर्नरले दुई गोल गरे। उनले दुवै गोल पेनाल्टीबाट गरेका थिए।
वर्नरले पहिलो गोल १० मिनेट र दोस्रो गोल ४१ मिनेटमा गरे। ४० मिनेटमा रेनेसका चागास एस्टीवोले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए। जसका कारण रेनेसलेस पहिलो हाफको अन्तिम पाँच मिनेट र दोस्रो हाफ पूरै १० खेलाडीमा खेल्नु परेको थियो।
यो समूहको अर्को खेलमा सेभियाले एफसी क्रास्नोदरलाई ३-२ गोलले पराजित गरेको छ।
समूहमा शीर्ष स्थानको चेल्सीको ७ अंक छ। दोस्रो स्थानको सेभियाले पनि ७ अंक नै बटुलेको छ। रेनेस र क्रास्नोदरको भने १–१ अंक छ।
समूह ‘एफ’ को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले बेल्जियन क्लब ब्रुगलाई ३-० गोलले पराजित गरेको छ।
डर्टमन्डको जितमा थोर्गन हजार्डले १४ मिनेटमा पहिलो गोल गरे। थप दुई गोल इर्लिङ हाल्यान्डले गरे। उनले खेलको १८ र ३२ मिनेटमा गोल गरेका थिए।
यो समूहको अर्को खेलमा लाजियो र जेनिथ पिटर्सबर्गले १-१ गोलको बराबरी खेलेका छन्।
समूहमा डर्टमन्ड ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको लाजियोको ५ अंक र तेस्रो स्थानको ब्रुगको ४ अंक छ। पिटर्सबर्गले भने १ अंक मात्र जोडेको छ।