पार्टी भित्रको विवाद समाधान गर्न नेकपाका दोस्रो तहका नेताहरु सक्रिय

  ।   २०७७ कार्तिक १७, सोमबार ०८:३३

काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादले पार्टी विभाजनको खतरा बढेपछि दोस्रो तहका नेताहरु विवाद समाधान गर्न सक्रिय भएका छन् ।

पार्टी महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेल लगायतका नेताहरु दुवै समूहलाई मिलाउने प्रयासमा जुटेका हुन् ।

पार्टीका अरु नेता र कार्यकर्ताले पनि पार्टी विभाजनतर्फ जान नदिन शीर्ष नेताहरुलाई खबरदारी गरेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि आफू निकटका नेताहरुसँग औपचारिक तथा अनौपचारिक छलफलमा जुटेका छन् । पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेटघाट गरेको विषयलाई लिएर नेकपाभित्र फेरि विवाद चर्किएको हो ।

नेकपामा यसअघि पनि यसैगरी विवाद चर्किएको थियो । भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पुरानो विवाद नदोहोर्याउने र चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर एकअर्कालाई दोषारोपण गर्दै शीर्ष नेताहरुबीच फेरि विवाद सुरु भएको हो ।

अध्यक्ष प्रचण्डले हिजो आफू पक्षीय नेताहरुसँगको छलफलमा पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गर्नु भएको थियो । बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको बताउनु भएको हो ।

भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीले पनि बालुवाटारमा आफू पक्षीय नेताहरुसँग परामर्श गर्नुभएको थियो ।

Next Post

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना संक्रमित थपिए

२०७७ कार्तिक १७, सोमबार ०८:३३
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर […]