सिराज खान
नेपालगञ्ज । कोभिड १९ महामारीले गर्दा बर्दिया जिल्लाको दुईवटा नगरपालिकाका अतिप्रभावित र अतिविपन्न ८ सय ८८ घर परिवारलाई बाँके युनेस्को क्लबले विभिन्न सहयोग प्रदान गरेको छ ।
बेलायत सरकार सहायता नियोग डीएफआइडीको आर्थिक सहयोग र मर्सि कोर तथा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकाकामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रमबाट ८ सय ८८ घरपरिवारलाई सहयोग गरिएको हो ।
कोभिड १९ का कारण अत्याधिक प्रभावित भै समस्यामा परेका अतिविपन्न परिवारलाई आधारभूत खाद्य र अन्य आवश्यकताका लागि प्रति परिवार १३ हजार पाँचसय बराबरको सहयोग गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले सो कार्यक्रम राजापुर नगरपालिकाको वडा नम्बर ४ र १० तथा बारबर्दिया नगरपालिकाको वडा नम्बर १ र १० मा सञ्चालन गरेर वडा कार्यालयहरुको समन्वयमा अतिप्रभावित तथा अतिविपन्नको छनोट गरि सो सहयोग प्रदान गरिएको बताउनुभयो ।
उक्त कार्यक्रमबाट सहयोग पाउने प्रभावित तथा विपन्नहरुमा राजापुरका ४४४ परिवार र बारबर्दियाका ४४४ घर परिवार रहेको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
उहाँका अनुसार छनोटमा परेका परिवारलाई प्रति परिवार १३ हजार पाँच सय बराबरको प्रिपेड कार्ड वितरण गरिएको जनाउँदै सोही कार्ड देखाएर उनिहरुले उक्त बराबरको खाद्य लगायत अन्य सहयोग तोकिएको भेन्डरबाट प्राप्त गर्नेछन् ।
सो कार्यक्रम अन्तर्गत कोभिड १९ महामारी विरुद्ध दुबै नगरपालिकामा जनचेतना फैलाइने, चेतनामूलक जिंगलहरु स्थानीय रेडियोमार्फत बजाइने तथा पोषण स्वच्छता अभ्यासका बारेमा पनि जानकारी गराइने कार्यक्रमका संयोजक दयाराम चौधरीले बताउनुभयो ।
सहयोग वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि तथा अन्य विभिन्न निकायका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
कोभिड १९ को अति जोखिममा रहेका परिवारका लागि आधारभूत खाद्य, स्वास्थ्य र अन्य आवश्यकतामा सहयोग गर्न सो कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका मिल अफिसर हसरत अलीले बताउनुभयो । उहाँले सहयोगपाएपछि प्रभावित र विपन्नहरु निकै खुशी देखिएको पनि बताउनुभयो ।