भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गर्नुभएको छ ।
भारतीय सञ्चारमाध्यमले उहाँको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए । सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले “चाँडै क्यान्सरलाई परास्त गर्ने“ विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताउनुभएको छ । अहिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलिचित्रमा अभिनय गरिसक्नुभएको छ ।
गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उहाँको कोभिड–१९ परीक्षण गरिएको थियो । तर उहाँलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन । त्यसपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरियो ।
फोक्सोको क्यान्सर देखिएको अपुष्ट समाचारअनुसार आएकै बेला उहाँले “औषधोपचारका लागि कामबाट छोटो बिदा“ लिने बताउनुभएको थियो ।
सञ्जय दत्त र उहाँकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गरर्दै प्रशंसकहरूलाई उहाँको अवस्थाबारे “चिन्ता नलिन वा अनावश्यक अनुमान नगर्न“ आग्रह गर्नुभएको छ ।
आफ्ना केशविन्यासकार आलिम हकिमको सलोनमा खिचिएको भिडिओमा दत्तले देब्रे आँखीभौँदेखि टाउकोको छेउसम्म बनेको एउटा दाग देखाउनुभएको छ । “यो मेरो जीनवको आलो दाग हो । तर म यसलाई परास्त गर्छु । म क्यान्सरबाट चाँडै मुक्त हुन्छ ।“
दत्तले नयाँ चलचित्रको छायाङ्कनमा जान पाउने भएकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ । सन् २०१३ मा पाँच वर्ष जेल परेपछि उहाँको अभिनययात्रामा विश्राम लागेको थियो ।
सन् १९९३ मा मुम्बईमा भएका विस्फोटन र बन्दुकसम्बन्धी मुद्दामा उहाँ दोषी ठहर हुनुभएको थियो । ती घटनामा २५७ मानिसको ज्यान गएको थियो भने ७१३ जना घाइते भएका थिए । तर सन् २०१६ मा कारागारबाट छुटेपछि उहाँ फेरि चलचित्र उद्योगमा फर्किनुभयो ।
उहाँले त्यसपछि अभिनय गरेका केही चलचित्रहरू धेरै सफल भए । रणवीर कपूरले अभिनय गरेको दत्तको जीवनकथामा आधारित चलचित्र धेरै चल्यो ।
सञ्जय दत्तले आफू लागुपदार्थको दुब्र्यसन र मुम्बई घटनामा दोषी ठहर भएको विषयमा खुलेरै अन्तर्वार्ता दिनुभएको छ । ती घटनाले आफूलाई बलियो बनाएको उहाँको भनाइ छ ।
उहाँकी आमा नरगिसको सन् १९८१ मा र पहिली पत्नी ऋचा शर्माको १९९६ मा क्यान्सरकै कारण मृत्यु भएको थियो । उहाँका बुवा सुनील दत्त र आमा नरगिस दुवै जना कलाकार हुनुहुन्थ्यो । सुनीत दत्त पछि राजनीतिमा पनि लाग्नुभयो ।