सबिता चन्द
नेपालगन्ज । नेपालगन्जस्थित ब्रिटिस इंग्लिस बोर्डिङ स्कुलमा “मोरिङ्गा फर लभ” अभियान अन्तर्गत एक दिने स्वास्थ्य चेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नुका साथै आपतकालीन अवस्थामा प्रभावकारी प्रतिक्रिया जनाउने सीप विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रम अन्तरक्रियात्मक तथा व्यवहारिक ढंगले सञ्चालन गरिएको थियो। सहभागीहरूले स्वास्थ्यसम्बन्धी विविध विषयमा ज्ञान हासिल गर्नुका साथै दैनिक जीवन र विद्यालयीय वातावरणमा प्रयोग गर्न सकिने महत्वपूर्ण सीपहरू सिक्ने अवसर पाएका थिए।
कार्यक्रमका प्रमुख वक्ता तथा “मोरिङ्गा फर लभ” अभियानका निर्देशक डा. प्याट्रिक चौले आपतकालीन स्वास्थ्य सेवासम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गर्नु भएको थियो । उहाँले बेहोस भएका व्यक्तिमा सिपिआर (CPR) कसरी गर्ने भन्ने विषयमा चरणबद्ध प्रशिक्षण दिनुभएको थियो भने घाँटीमा खाना वा अन्य वस्तु अड्किएको अवस्थामा आवश्यक प्राथमिक उपचारबारे पनि व्यवहारिक जानकारी दिनुभएको थियो । प्रशिक्षणलाई प्रभावकारी बनाउन डमी (प्रशिक्षण उपकरण) प्रयोग गरी सहभागीहरूलाई प्रत्यक्ष अभ्यास गराइएको थियो।
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक तथा वातावरण अभियन्ता हेमन्त राज काफ्लेले सितलचिनी (मोरिङ्गा) का स्वास्थ्य लाभबारे जानकारी गराउनु भएको थियो । उहाँले मोरिङ्गाको नियमित सेवनले शरीरलाई आवश्यक पोषण प्रदान गर्ने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने तथा समग्र स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने बताउनु भयो । साथै, स्वस्थ जीवनशैलीका लागि मोरिङ्गाको प्रयोगलाई दैनिक जीवनमा समावेश गर्न आग्रह गर्नु भएको थियो।
कार्यक्रममा चीनबाट आएका स्वयंसेवक मुक्सीको पनि सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्वरूप दिएको आयोजकले जनाएको छ। उहाँको उपस्थितिले स्वास्थ्य चेतना तथा मानव सेवामा विश्वव्यापी सहकार्यको सन्देश प्रवाह गरेको थियो।
विद्यालयका संस्थापक विजय श्रेष्ले यस्ता जीवनोपयोगी विषयमा ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्दै विशेषगरी CPR सम्बन्धी प्रशिक्षण अत्यन्त उपयोगी रहेको उल्लेख गर्नु भयो । उहाँले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राख्नु भयो ।
समग्रमा कार्यक्रम प्रभावकारी र ज्ञानवर्द्धक बनेको सहभागीहरूको प्रतिक्रिया रहेको छ। कार्यक्रममा सिकिएका सीपहरूले भविष्यमा आपतकालीन अवस्थामा जीवनरक्षा गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। साथै, यस्ता कार्यक्रमहरूले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


