नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिकाको थप एक वडालाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ५,६ र ७ गरेर तीनवटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिए लगत्तै वडा नम्बर १ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाको वडा नं १ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर १ का अध्यक्ष जोगीराम थारुको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको हो । कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने उदेश्यले वडाहरु धमाधम बालविवाहमुक्त घोषणा भइरहेको बताउनुभयो ।
उहाँले सन् २०८१ भित्र गुलरिया नगरपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउने प्रतिबद्धता फेरी पनि दोहोर्याउनुभयो । सो अवसरमा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, मुख्य प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल र महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत अन्य वडा अध्यक्ष, राजनीतिक अगुवा, धर्मगुरु, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले गुलरिया नगरपालिकामा बालविवाह न्यूनीकरणकालागि सरकार तथा सामाजिक संघसंस्थाले गरेको प्रयासलाई उजागर गर्दै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछाने र कार्यक्रम अधिकृत ईश्वर विकले बर्दिया जिल्लामा बालविवाह न्यूनीकरण र बालअधिकार प्रवर्द्धनका लागि सरोकारवालाको सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रममा सात भन्दा बढी समुहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए । सो समारोहमा करिब चार सय व्यक्तिको सहभागिता रहेको थियो । गुलरिया नगरपालिकाका बरिष्ठ अधिकृत मुकुन्द अर्यालले संचालन गरेको कार्यक्रममा बाँके युनेस्को क्लबका सामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीको पनि उपस्थिति रहेको थियो ।