सबिता चन्द
सबिता चन्द
नेपालगञ्ज । बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जी.एम.ले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत संकल्प पत्र सार्वजनिक गर्नु भएको छ । निर्वाचन परिचालन समितिका संयोजक राजकुमार बिकको अध्यक्षतामा खजुरा गाउँपालिका–१ स्थित पुरानो गोदावरी कटेजमा आइतबार आयोजित कार्यक्रममा उक्त संकल्प पत्र सार्वजनिक गरिएको हो।
पत्रकारहरूमाझ सार्वजनिक गरिएको संकल्प पत्रमा क्षेत्र नं. ३ को समग्र विकासका लागि स्पष्ट कार्यदिशा प्रस्तुत गरिएको छ। संकल्प पत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, खानेपानी, सिँचाइ, विद्युत्, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। ग्रामीण र शहरी क्षेत्रबीच सन्तुलित विकास सुनिश्चित गर्दै दीर्घकालीन योजनामार्फत क्षेत्रको मुहार फेर्ने लक्ष्य राखिएको उल्लेख छ।
शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई विशेष प्राथमिकता दिँदै सामुदायिक विद्यालयहरूको स्तर अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजना समेटिएको छ। आर्थिक विकासअन्तर्गत कृषि क्षेत्रको आधुनिकीकरण, उन्नत बीउ र प्रविधिको प्रयोग, पशुपालन तथा कृषि आधारित उद्योगको स्थापना गरी रोजगारी सृजना गर्ने लक्ष्य लिइएको छ। युवालाई सीपमूलक तालिम र स्वरोजगारका अवसर प्रदान गरिने प्रतिबद्धता गरिएको छ।
संकल्प पत्रमा संस्थागत सुधार र सुशासनलाई पनि जोड दिइएको छ। जटिल कानुनी प्रावधान संशोधन गर्दै जनमैत्री कानुन निर्माणमा पहल गरिने र सरकारी सेवा प्रवाहलाई सरल, सहज तथा पारदर्शी बनाइने उल्लेख गरिएको छ। वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ जोखिम न्यूनीकरण, वातावरणीय चेतना अभिवृद्धि र जलवायु अनुकूल कृषि प्रणाली विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
त्यसैगरी शहीद परिवार, आन्दोलनका घाइते, अपाङ्ग, ज्येष्ठ नागरिक, महिला, दलित, आदिवासी–जनजाति तथा विपन्न वर्गका लागि विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ। सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्दै समावेशी विकासलाई अघि बढाइने संकल्प पत्रमा उल्लेख छ।
संकल्प पत्र सार्वजनिक गर्दै उम्मेदवार दीपक जी.एम.ले राजनीति व्यक्तिगत स्वार्थका लागि नभई जनताको सेवा र अधिकार संरक्षणका लागि भएको बताउनु भयो । उहाँले जनताको दुःख–सुखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दै बाँकेलाई समृद्ध, शिक्षित र सुरक्षित जिल्ला बनाउने लक्ष्यका साथ उम्मेदवारी दिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आइपी खरेल, अब्दुल हुसेन खाँलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।



