शोभा धिताल
नेपालगन्ज । कर्णालीको विकट भूगोल जुम्लामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका निर्वाचन प्रहरी धर्म रोकायाको हेलिकोप्टरमार्फत उद्धार गरी नेपालगन्जमा उपचार भइरहेको छ। उहाँको अवस्था गम्भीर रहेकाले आईसियुमा राखेर निगरानीसहित उपचार थालिएको चिकित्सकहरूले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय जुम्लाले तत्काल पहल गर्दै गृह मन्त्रालय नेपाल अन्तर्गत शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई हेलिकोप्टर व्यवस्था गरिदिन पत्राचार गरेपछि उद्धार प्रक्रिया अघि बढाइएको थियो । निर्वाचन सुरक्षाका लागि खटिएका रोकाय जुम्लाको हिमा गाउँपालिकातर्फ जाँदै गर्दा सवारी दुर्घटनामा परेका थिए।
दुर्घटनापछि प्रारम्भिक उपचारका लागि उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर आवश्यक उच्चस्तरीय उपचार त्यहाँ सम्भव नभएपछि तत्काल माथिल्लो स्वास्थ्य केन्द्रमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ।
प्रशासनको अनुरोधपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत जुम्ला-सुर्खेत उद्धार उडान तालिका तय गरिएको थियो। जुम्ला विमानस्थलबाट एयरलिफ्ट गरी उहाँलाई सुर्खेत ल्याइएको हो।
सुर्खेतबाट एम्बुलेन्समा नेपालगन्ज ल्याइएपछि डा. डक्ट प्रसाद धितालको समन्वयमा सन्जिबनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि. मा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। अस्पतालका सर्जन डा. मनिस कोलाक्षपतिका अनुसार बिरामीको सिटिस्क्यान गरिनेछ अहिले आईसियुमा राखेर उपचार भइरहेको छ। टाउकोमा गम्भीर चोट देखिएकाले कम्तीमा २४ घण्टा कडा निगरानी आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ। प्रारम्भिक रिपोर्टमा मस्तिष्कमा चोटको प्रभाव देखिए पनि विस्तृत अवस्था निरन्तर परीक्षणपछि मात्रै स्पष्ट हुने बताइएको छ।
यस घटनाले विकट कर्णाली क्षेत्रमा आपत्कालीन अवस्थामा राज्य संयन्त्र कसरी सक्रिय हुन्छ भन्ने स्पष्ट पारेको छ। जिल्ला प्रशासनको शीघ्र पहल, गृह मन्त्रालयको समन्वय र हेलिकोप्टर व्यवस्थाले जीवनरक्षामा महत्वपूर्ण भूमिका खेलेको पत्रकार नेत्र शाहीको भनाइ छ । समयमै एयरलिफ्ट नगरिएको भए अवस्था झन जटिल बन्न सक्ने अनुमान गरिएको छ।
प्रहरी वृत्त र परिवारमा चिन्ता रहे पनि चिकित्सकहरूले आवश्यक सबै उपचार सेवा उपलब्ध गराइएको र अवस्था निरन्तर निगरानीमा रहेको बताएका छन्। विकट जिल्लामा कार्यरत जोसुकै निर्वाचन प्रहरी, सुरक्षाकर्मीहरूको सुरक्षा र आपत्कालीन स्वास्थ्य सेवाको पहुँचबारे यो घटनाले फेरि प्रश्न उठाएको छ। हाल सबैको ध्यान आईसियुमा उपचाररत धर्म रोकायाको स्वास्थ्य सुधारतर्फ केन्द्रित छ।


