सबिता चन्द
नेपालगन्ज । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार बिहान नेपालगन्ज–१४ मा प्रचारप्रसार तथा सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको छ। निर्वाचन अभियानलाई जनतासँग अझ नजिक पुर्याउने उद्देश्यका साथ स्थापना गरिएको उक्त कार्यालयलाई चुनावी गतिविधिको समन्वय केन्द्रका रूपमा लिइएको छ।
उद्घाटन कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार कालिमिया कस्मिरा र जामिया खातुन, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अकल बहादुर बम, नेता डिल्ली बराल, प्रदेश सदस्य सचिवालय सदस्य नवीन शर्मा लगायतका केन्द्रीय, प्रदेश र स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले बाँके क्षेत्र नं. २ मा देखिएको राजनीतिक चेतना र परिवर्तनको चाहनालाई दिपेन्द्र बिष्टको उम्मेदवारीले सही दिशा दिने विश्वास व्यक्त गरे।
नेताहरूले बिष्टलाई स्पष्ट दृष्टिकोण भएका, जनताको समस्या बुझ्ने र समाधानतर्फ उन्मुख युवा नेताको रूपमा चित्रण गरे। उनीहरूको भनाइमा, लामो समयदेखि प्रतिनिधित्वको अभाव महसुस गरिरहेका स्थानीयवासीका लागि बिष्ट आशाको केन्द्र बन्नु भएको छ । सम्पर्क कार्यालय जनताको आवाज सुन्ने, सुझाव संकलन गर्ने र नीति निर्माणका आधार तयार गर्ने साझा मञ्च बन्ने विश्वास पनि व्यक्त गरिएको थियो।
उद्घाटनपछि उम्मेदवार बिष्टले नेपालगन्ज–१९ अन्तर्गत पर्ने फुटाहा क्षेत्रका टोल–बस्तीमा पुगेर घरदैलो अभियान गर्नुभयो। उहाँले विभिन्न समुदायका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको जीवनस्तर, आधारभूत समस्या र विकासका अपेक्षाबारे जानकारी लिनुभयो। सडक, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाका विषय स्थानीयवासीका प्रमुख चासोका रूपमा उठेका थिए।
स्थानीयवासीका कुरा ध्यानपूर्वक सुन्दै बिष्टले जनताको पीडालाई नीति र कार्यक्रममार्फत संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “राजनीति जनताको सेवाका लागि हो, सत्ता र पदका लागि होइन,” उहाँले भन्नुभयो। जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको भन्दै उहाँले इमान्दार र उत्तरदायी प्रतिनिधित्वको प्रतिवद्धता दोहोर्याउनुभयो।
भेटघाटका क्रममा देखिएको आत्मीयता, सकारात्मक प्रतिक्रिया र उत्साहपूर्ण वातावरणले उम्मेदवार बिष्टलाई प्रफुल्लित बनाएको छ। स्थानीयस्तरमा देखिएको समर्थन र भरोसाले आफ्नो अभियान सही दिशामा अघि बढिरहेको अनुभूति भएको उहाँको भनाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टको चुनावी अभियान नारामुखीभन्दा पनि जनसंवाद, विश्वास र सहभागितामा आधारित बन्दै गएको छ। सम्पर्क कार्यालयको स्थापना र निरन्तर टोल–बस्ती केन्द्रित भेटघाटले उहाँको उम्मेदवारीलाई थप सुदृढ बनाउँदै लगेको देखिन्छ, जसले आगामी निर्वाचन परिणाममा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।



