सबिता चन्द
नेपालगञ्ज । बाँके निर्वाचन क्षेत्र नं. २ मा चुनावी माहोल तातिँदै जाँदा एउटा नाम जनताको मुख–मुखमा छ—दिपेन्द्र बिष्ट। गल्ली, टोल, चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म उहाँको चर्चा स्वाभाविक रूपमा फैलिएको छ। यसको कारण न कुनै ठूला भाषण हुन्, न त खोक्रा वाचा। कारण हुन्—काम, व्यवहार र सोच।
युवा उम्मेदवार दिपेन्द्र बिष्ट केवल राजनीतिमा नयाँ अनुहार मात्र होइनन्, उहाँ सफल उद्यमी पनि हुनुहुन्छ। हालसम्म प्रत्यक्ष रूपमा ५० भन्दा बढी युवालाई रोजगारी दिन सफल बिष्टले ‘रोजगारी भाषणले होइन, सिर्जनाले हुन्छ’ भन्ने कुरा व्यवहारमै देखाइसक्नुभएको छ। रोजगारीको अभावले पीडित युवाहरूका लागि उहाँ आशाको प्रतीक बन्दै जानु यसको मुख्य कारण हो।
उहाँको अर्को विशेषता भनेको मिलसार र सहज स्वभाव हो। सर्वसाधारण, मजदुर, व्यापारी, जेष्ठ नागरिक वा युवा—जो भेटे पनि खुलेर कुरा गर्ने, समस्या सुन्ने र जवाफ दिन कहिल्यै झर्को नमानेर स्पष्ट धारणा राख्ने नेताका रूपमा बिष्ट परिचित हुँदै जानुभएको छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नलाई अवसरका रूपमा लिने उहाँको शैलीले मतदाताको भरोसा जितेको छ।
खेलकुदप्रेमी व्यक्तित्व हुनु पनि उहाँको लोकप्रियताको अर्को आधार हो। लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका बिष्टले खेललाई अनुशासन, नेतृत्व र सकारात्मक सोचको पाठशाला मान्नुहुन्छ। यही कारण युवामाझ उहाँ ‘नेता मात्रै होइन, प्रेरणा’ का रूपमा स्थापित हुँदै जानुभएको छ।
साथै, समाजसेवामा निरन्तर सक्रिय रहनु बिष्टको अर्को पहिचान हो। सडक पेटीमा बसेका बेसहारा, श्रमिक, किसानदेखि सामाजिक अभियानसम्म उहाँको उपस्थिति देखिन्छ। चुनावी मौसममा मात्र होइन, सामान्य समयमा पनि जनताका सुख–दुःखमा साथ दिने व्यवहारले उहाँलाई अरूभन्दा फरक बनाएको छ।
राजनीतिमा धेरैले कुरा गर्छन्, तर काम कम देखिन्छ। तर दिपेन्द्र बिष्टको हकमा जनताले ‘भन्ने होइन, गर्ने नेता’ देख्न थालेका छन्। यही कारण बाँके क्षेत्र नं. २ मा उहाँको चर्चा प्रचारभन्दा बढी जनविश्वासबाट बढिरहेको छ।
विश्लेषकहरू भन्छन्—युवा ऊर्जा, उद्यमशील अनुभव, सामाजिक संवेदनशीलता र जवाफदेही स्वभावको संयोजन नै दिपेन्द्र बिष्टको सबैभन्दा ठूलो शक्ति हो। यही शक्तिले उहाँलाई बाँके–२ को चुनावी प्रतिस्पर्धामा गम्भीर र प्रभावशाली उम्मेदवारको रूपमा उभ्याएको छ। आज बाँके–२ मा उठिरहेको प्रश्न केवल ‘को उम्मेदवार ?’ होइन, ‘कसले काम गरेर देखाएको छ ?’ भन्ने हो। र यही प्रश्नको उत्तरका रूपमा दिपेन्द्र बिष्टको नाम जताततै चर्चित छ । 



