समुदायमै स्वास्थ्यको उज्यालो नसर्ने रोग नियन्त्रणमा नेपालगन्ज नर्सिङ कलेजको ऐतिहासिक पहल

  ।   २०८२ माघ १९, सोमबार १९:३८

नेपालगन्ज । नसर्ने रोग (NCD)- मधुमेह, उच्च रक्तचापजस्ता दीर्घ रोगहरू आज समाजका हरेक घर–आँगनसम्म फैलिँदै गएका छन् । यिनै रोगहरूको समयमै पहिचान, उपचार र जनचेतनाका लागि समुदायस्तरमै पुगेर गरिएको सेवा नै साँचो अर्थमा जनस्वास्थ्यको आधार हो । यही मान्यतालाई व्यवहारमा उतार्दै नेपालगन्ज नर्सिङ कलेजले खजुरा गाउँपालिकास्थित खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा समुदायस्तरको नसर्ने रोग (NCD) स्क्रिनिङ, उपचार तथा परामर्श शिविर सफलतापूर्वक सञ्चालन गरेको छ ।

शिविरको प्रमुख अतिथिका रूपमा उपस्थित डा. राजन पाण्डेले नसर्ने रोगहरू ‘चुपचाप फैलिने महामारी’ भएको उल्लेख गर्दै समयमै स्क्रिनिङ र जीवनशैली सुधार नै यसको प्रभावकारी समाधान भएको बताउनु भ्यो । “अस्पताल कुर्नु होइन, अस्पताल जनताकहाँ पुग्नुपर्छ भन्ने अवधारणाको यो उत्कृष्ट उदाहरण हो,” उहाँले भन्नुभयो ।

कार्यक्रममा समुदायमा सेवा नेपालगन्ज नर्सिङ कलेजकी प्रमुख सुनिता आचार्यले नर्सिङ शिक्षालाई केवल कक्षा र प्रयोगशालामा सीमित नराखी समुदायसँग जोड्नु नै कलेजको मूल उद्देश्य भएको स्पष्ट पार्नुभयो । “नर्सहरू समाजका पहिलो स्वास्थ्य सल्लाहकार हुन् । समुदायमा पुगेर सेवा दिन पाउनु हाम्रा विद्यार्थीका लागि पनि जीवनभरको सिकाइ हो,” उहाँको भनाइ थियो ।

शिविरमा तुलसा सहित सम्पूर्ण नर्सिङ कलेज परिवारको सक्रिय सहभागिता रहेको थियो । नर्सिङ विद्यार्थी र स्वास्थ्यकर्मीहरूले स्थानीय नागरिकहरूको रक्तचाप, रक्तसकर (सुगर) परीक्षण गर्नुका साथै रोगसम्बन्धी परामर्श, औषधि सेवनको विधि, खानपान र जीवनशैली सुधारबारे व्यवहारिक सुझाव दिएका थिए ।

स्थानीय बासिन्दाहरूले घरआँगनमै यस्तो सेवा पाउँदा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रम नियमित रूपमा हुनुपर्ने माग गरेका छन् । धेरै नागरिकले पहिलो पटक आफ्नो स्वास्थ्य अवस्था थाहा पाएको प्रतिक्रिया दिएका छन्, जसले शिविरको महत्त्वलाई अझ पुष्टि गरेको छ ।

नसर्ने रोग नियन्त्रणका लागि चेतना, निरन्तरता र सहकार्य अपरिहार्य छ । नेपालगन्ज नर्सिङ कलेजको यो पहल केवल एक शिविर मात्र होइन, समुदायमा स्वास्थ्य चेतनाको दीप प्रज्वलन हो । यस्ता कार्यक्रमले स्वस्थ समाज निर्माणतर्फ आशाको उज्यालो बाटो देखाएका छन् ।

Next Post

बाँके–२ को चुनावी तराजु : युवा उभार कि पुरानो पकड ?

२०८२ माघ १९, सोमबार १९:३८
सबिता चन्द नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा यसपटकको चुनाव सामान्य प्रतिस्पर्धा मात्र होइन, पुस्तान्तरण र राजनीतिक शैलीको टकरावका रूपमा देखिन थालेको छ। मैदानमा धेरै उम्मेदवार भए पनि व्यवहारतः प्रतिस्पर्धा तीन मुख्य पात्र वरिपरि केन्द्रित देखिन्छ—नेपाली कम्युनिस्ट पार्टीका युवा नेता दिपेन्द्र बिष्ट, नेकपा एमालेका पूर्व मन्त्री इस्तियाक राई […]