नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ मा पनि चुनावी माहोल थप सक्रिय बनेको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको अभियानलाई बल पुग्ने गरी आज प्रचार–प्रसार सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ। उद्घाटनसँगै वडा २१ मा राजनीतिक चहलपहल र जनउत्साह स्पष्ट देखिएको छ।
उद्घाटन कार्यक्रममा नेता–कार्यकर्ता, स्थानीय बुद्धिजीवी, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले जनतासँग प्रत्यक्ष संवाद, जनभावनाको सम्मान र व्यवहारिक विकास नै अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो ।
उम्मेदवार दिपेन्द्र बिष्टले वडा २१ का स्थानीयसँग नजिकबाट जोडिएर उनीहरूको समस्या र अपेक्षा बुझ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राजनीति नारामा मात्र सीमित नहुने, जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने निर्णय र काम नै आफ्नो प्राथमिकता हुने स्पष्ट पार्नुभयो। सम्पर्क कार्यालय उद्घाटनपछि घरदैलो अभियान, युवा संवाद र विभिन्न समुदायसँग छलफललाई अझ तीव्र बनाइने बताइएको छ। स्थानीयले पनि उम्मेदवार बिष्टको सक्रियता र सरल शैलीले आशा र भरोसा बढेको प्रतिक्रिया दिएका छन्। वडा नं. २१ मा खुलेको सम्पर्क कार्यालयले चुनावी अभियानलाई मात्र होइन, जनता र नेतृत्वबीचको दूरी घटाउने पुलको काम गर्ने अपेक्षा गरिएको छ।





