२० उम्मेदवारको भीडमा ६ मुख्य अनुहार: बाँके–२ को चुनावी यथार्थ

  ।   २०८२ माघ ११, आईतवार १७:३६

सबिता चन्द
नेपालगन्ज । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनले बाँके क्षेत्र नं. २ लाई राजनीतिक चासोको केन्द्रमा ल्याएको छ । यस क्षेत्रबाट २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवारदेखि साना–ठूला दलसम्मको बाक्लो उपस्थितिले चुनावी सूची लामो देखिए पनि व्यवहारिक रूपमा मतदाताको ध्यान र राजनीतिक बहस भने मुख्य ६ दलका उम्मेदवार वरिपरि केन्द्रित भएको देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार धेरै उम्मेदवार हुनु लोकतन्त्रको सुन्दर पक्ष भए पनि चुनावी प्रतिस्पर्धा, संगठन, जनसम्पर्क र प्रभावका आधारमा केही उम्मेदवार मात्र निर्णायक भूमिकामा देखिन्छन्। यही कारण बाँके–२ को चुनावलाई “२० उम्मेदवार, तर सीमित प्रतिस्पर्धा”को रूपमा हेरिँदै छ।

यस निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट ३६ वर्षीय युवा नेता दिपेन्द्र बिष्ट, नेकपा एमालेबाट पुर्व मन्त्री मो. इस्तियाक राई, नेपाली कांग्रेसबाट स्व. सुशील कोइरालाका भतिजा सुधान्सु कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिराज देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठ र जनता समाजवादी पार्टीबाट कमरुद्दिन राई मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

युवा उम्मेदवार दिपेन्द्र बिष्टको अभियानले बाँके–२ मा फरक माहोल सिर्जना गरेको देखिन्छ। व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आएका बिष्टले घरदैलो, जेन–जी युवासँग संवाद, शिक्षक–कर्मचारी र सर्वसाधारणसँग प्रत्यक्ष भेटघाटलाई आफ्नो चुनावी रणनीतिको केन्द्रमा राख्नुभएको छ । सुर्यदोयसँगै जनतासँग भेटघाटमा निस्किने बिष्टको शैलीले उहाँलाई परिवर्तन र नयाँ सोचको प्रतिनिधिका रूपमा उभ्याएको छ । युवा मतदाता र पुराना दलप्रति असन्तुष्ट वर्गमा उहाँप्रति आकर्षण बढ्दै गएको देखिन्छ। यद्यपि, राष्ट्रिय राजनीतिमा लामो अनुभव नहुनु उहाँका लागि चुनौतीका रूपमा चर्चा हुन्छ ।

नेकपा एमालेका उम्मेदवार पुर्व मन्त्री मो. इस्तियाक राई भने संगठनात्मक रूपमा बलिया उम्मेदवार मानिनुहुन्छ । पार्टीको स्थिर संरचना, अनुभवी कार्यकर्ता र परम्परागत मताधार उहाँको मुख्य शक्ति हो। लामो समयको राजनीतिक अनुभवका कारण उहाँलाई सुरक्षित उम्मेदवारका रूपमा हेर्ने मतदाता पनि छन्। तर नयाँ पुस्ता र परिवर्तन चाहने मतदातामाझ उहाँको सन्देश कति प्रभावकारी हुन्छ भन्ने प्रश्न भने उठिरहेकै छ।

नेपाली कांग्रेसका उम्मेदवार सुधान्सु कोइराला राजनीतिक विरासतका कारण चर्चामा हुनुहुन्छ । स्व. सुशील कोइरालाको नामसँग जोडिएको पारिवारिक पहिचानले उहाँलाई भावनात्मक समर्थन दिलाउने अपेक्षा गरिएको छ। तर स्थानीय तहमा निरन्तर उपस्थित नहुनु र जनसम्पर्क कमजोर देखिएको आलोचना पनि सुनिन्छ । मतदाताहरू अब नामभन्दा काम र सक्रियता खोजिरहेका छन् भन्ने धारणा बलियो हुँदै गएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ऋषिराज देवकोटा विचारधारामा स्पष्ट देखिनुहुन्छ । सीमित भए पनि प्रतिबद्ध मतदाता उहाँसँग छन्। तर क्षेत्रव्यापी प्रभाव विस्तार गर्न कठिन देखिएकाले निर्णायक जितभन्दा पनि चुनावी बहसमा आफ्नो विचार राख्ने भूमिकामा उहाँ सीमित हुने आँकलन गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेक श्रेष्ठ वैकल्पिक राजनीतिका प्रतिनिधि मानिनुहुन्छ । भ्रष्टाचारविरोधी, पारदर्शी शासन र नयाँ राजनीतिक संस्कृतिको एजेन्डाले खासगरी शहरी र सचेत मतदातालाई आकर्षित गर्ने प्रयास उहाँको अभियानमा देखिन्छ। तर स्थानीय संगठन कमजोर हुनु र ग्रामीण क्षेत्रमा सीमित पहुँच उहाँका मुख्य चुनौती हुन्।

जनता समाजवादी पार्टीका उम्मेदवार कमरुद्दिन राई विशेष समुदायमा पकड राख्ने नेताका रूपमा चिनिने दावी गर्नुहुन्छ । निश्चित क्षेत्रमा प्रभाव भए पनि समग्र क्षेत्रभर समर्थन विस्तार गर्न कठिन देखिन्छ। विश्लेषकहरूका अनुसार उहाँको उम्मेदवारीले जितभन्दा बढी मत विभाजनमा असर पार्ने सम्भावना छ।

यसरी हेर्दा, बाँके–२ मा २० जना उम्मेदवार भए पनि वास्तविक प्रतिस्पर्धा यी ६ उम्मेदवारबीच सीमित देखिन्छ। बाँकी उम्मेदवारहरूको उपस्थितिले लोकतान्त्रिक अभ्यासलाई समृद्ध बनाए पनि अन्तिम परिणाममा निर्णायक भूमिका खेल्ने सम्भावना कम आँकलन गरिएको छ। समग्रमा, बाँके–२ को चुनाव अनुभव बनाम ऊर्जा, पुरानो विरासत बनाम नयाँ सोच र संगठन बनाम प्रत्यक्ष जनसम्पर्कको प्रतिस्पर्धा बनेको छ। हालको चुनावी गतिविधि, जनभेटघाट र माहोल हेर्दा मुख्य प्रतिस्पर्धा युवा उम्मेदवार दिपेन्द्र बिष्ट र अनुभवी नेता मो. इस्तियाक राईबीच केन्द्रित हुने संकेत देखिन्छ। तर अन्तिम निर्णय भने फागुन २१ गते मतदाताले मतपेटिकामार्फत गर्नेछन्। धेरै उम्मेदवारको भीडमा बाँके–२ ले कसलाई रोज्छ—परिचित अनुहार कि नयाँ आशा ? यसको उत्तर अब निर्वाचन परिणामसँगै सार्वजनिक हुनेछ।

Next Post

व्यापारीदेखि जेन–जीसम्म बिष्टको संवाद-“सबैको माग मेरो जिम्मेवारी”

२०८२ माघ ११, आईतवार १७:३६
सबिता चन्द नेपालगन्ज। बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आज छुट्टाछुट्टै रूपमा स्थानीय व्यापारी तथा जेन–जी युवासँग भेटघाट गर्नुभएको छ। फरक–फरक भेटमा उठेका समस्या, अपेक्षा र सुझावलाई गम्भीरतापूर्वक लिँदै बिष्टले ती मागहरूलाई आफ्ना प्राथमिक एजेन्डामा राख्ने स्पष्ट सन्देश दिनुभएको हो। व्यापारीसँगको भेटमा बिष्टले बजारको […]