सम्बाददाता
नेपालगन्ज । महिला पत्रकारिताको सशक्तिकरण र पेशागत विकासलाई संस्थागत रूप दिन क्रियाशील महिला पत्रकार (WWJ) बाँके ले नेपालगन्ज–४ बसपार्कस्थित आफ्नो कार्यालय औपचारिक रूपमा उद्घाटन गरेको छ।
प्रमुख अतिथि संस्थापक अध्यक्ष इश्वरी पोखरेल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुक्रऋषि चौलागाईंले संयुक्त रूपमा रिवन काटेर कार्यालय उद्घाटन गर्नुभयो। उद्घाटनको क्रममा दुबैले महिला पत्रकारका आवाजलाई नीतिगत तहमा सबल रूपमा स्थापित गर्न संस्थागत संरचना अत्यावश्यक भएको, यस्तो पहलले महिला सञ्चारकर्मीको नेतृत्व क्षमतालाई थप उचाइ दिने र स्थानीय पत्रकारिताको विश्वसनीयता तथा विविधता बढाउने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटनमा शुभकामना मन्तव्य प्रस्तुत गर्ने क्रममा डा. डक्टप्रसाद धिताल, अर्जुन ओली, भागतराम थारु, विजय मल्ल ठकुरीलगायतका पत्रकारहरूले महिला पत्रकारितामा देखिँदै आएका चुनौती, समाजका दृष्टिकोण, संस्थागत सहयोगको आवश्यकता र नेतृत्व विकासका सम्भावनाबारे विश्लेषणात्मक दृष्टिकोण राख्नु भयो । वक्ताहरूका भनाइमा महिला पत्रकारहरूको सक्रियता र दक्षता बढ्दो छ, तर आज पनि महिला पत्रकारले भोगिरहेका जोखिम, संरचनागत कठिनाइ र संसाधनको सीमितता समाधान गर्न सामूहिक प्रयास र बलियो संस्थागत आधार निर्माण अनिवार्यतामा जोडदिइएको छ ।
कार्यक्रमले बाँके तथा लुम्बिनी प्रदेशमा महिला पत्रकारहरूको भूमिकाबारे स्पष्ट सन्देश दिएको छ। महिलालाई केवल सहभागितामा सीमित नराखी नेतृत्व भूमिकामा उदाउने वातावरण निर्माण गर्ने, महिला पत्रकारले सामना गर्ने समस्यालाई सम्बोधन गर्ने, र पत्रकारितालाई लिङ्गीय समावेशितातर्फ उन्मुख गराउने दिशामा यो कार्यालय महत्वपूर्ण माइलफलकका रूपमा देखिएने विश्वास गरिएको छ ।
नेपालगन्जमा आज सम्पन्न यो उद्घाटनले महिला पत्रकारको पेशागत यात्रा मात्र होइन, महिला नेतृत्वको विश्वसनीय, साहसी र प्रभावकारी उपस्थितिलाई औपचारिक मान्यता दिएको छ। महिला सञ्चारकर्मीहरूका चुनौती, संघर्ष र क्षमतालाई संस्थागत रूपमा बलियो बनाउने दिशामा WWJ बाँकेको यो पहल वास्तवमै महत्वपूर्ण र प्रेरणादायी कदमका रूपमा स्थापित भएको अतिथिहरुले बताएका छन् ।
अध्यक्ष सावित्री गिरीले कार्यक्रमको समापन गर्दै कार्यालय उद्घाटनलाई WWJ को मात्र उपलब्धि नभई बाँकेमा महिला पत्रकारितामा आउने नयाँ उदयको सुरुवातका रूपमा व्याख्या गर्दै आगामी दिनमा संस्थाले तालिम, अनुसन्धान, नेटवर्क विस्तार र नीतिगत पैरवीलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो। उहाँले पत्रकारहरूको साझा कार्यथलो, सीप विकास केन्द्र र नीतिगत आवाज उठाउने संस्थागत संरचना निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको यो कार्यालय बाँकेमा महिला सञ्चारकर्मीहरूको यात्राको महत्वपूर्ण मोडका रूपमा देखिने बताउनु भयो ।
कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष विमला चौधरीले गर्नुभएको थियो भने संचालन सहसचिव सुमित्रा चौधरीले गर्नुभयो ।



