लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान : बाँकेमा १६ दिनसम्मै १६ कार्यक्रम

  ।   २०८२ मंसिर ११, बिहीबार १८:३२

नेपालगन्ज । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा बाँके जिल्लामा १६ दिनसम्म १६ वटा विभिन्न कार्यक्रमसहित अभियान विस्तार गरिएको छ । २५ नोभेम्बरदेखि शुरु भएको यो अभियान सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र र नारी विकास केन्द्र नेपालगन्जको संयुक्त पहलमा सञ्चालन हुन लागेको हो  ।

अभियानअन्तर्गत निःशुल्क कानूनी परामर्श सेवा शुरु गरिएको छ । समुदायका गरिब, विपन्न, असहाय तथा मुस्लिम महिलालाई कानुनसम्बन्धी आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरू गरिएको नारी विकास केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पिडित तथा कमजोर वर्गका महिलालाई कानूनमा पहुँच सुनिश्चित गर्न यो सेवा महत्वपूर्ण हुनेछ ।

कार्यक्रमका क्रममा दीप प्रज्वलन, प्ले–कार्ड प्रदर्शन, सचेतनामूलक रिबन वितरण, बागेश्वरी मन्दिर परिसरमा महिलाको जुत्ता–चप्पल सरसफाइ, लैङ्गिक हिंसा पिडितसँग संवाद, रेडियो कार्यक्रम, सामाजिक सञ्जालमार्फत सचेतना अभिवृद्धि, सचेतनामूलक व्यानर प्रदर्शन, महिला सम्बन्धी कानुनी जानकारी, विद्यार्थीलाई साइबर सुरक्षा अभिमुखीकरणलगायतका गतिविधि आयोजना गर्ने योजना रहेको छ ।

सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीका अनुसार १६ दिने अभियानले मात्र समस्याको समाधान नहुने भएकाले महिलाको हकअधिकार र लैङ्गिक हिंसा निवारणका लागि वर्षभरि ३६५ दिन निरन्तर रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । “यस अभियानमा कानूनी अधिकारलाई विशेष प्राथमिकता दिइएको छ, त्यसैले महिलाको सवालमा पैरवी र सामाजिक सेवा भावनाबाट नै निःशुल्क कानूनी परामर्श प्रदान गरिएको हो,” तिवारीले बताउनुभयो।

संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रका अनुसार संस्था विगत लामो समयदेखि गरिब, विपन्न तथा अल्पसंख्यक समुदायका नागरिकलाई निवेदन, जाहेरी, प्रतिउत्तर, मुद्दा दर्तालगायतका कानूनी सेवा प्रदान गर्दै आएको छ। साथै, विभिन्न सरकारी तथा गैर–सरकारी निकायसँग समन्वय गर्दै सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको मिश्रले बताउनुभयो ।

१६ दिने यो अभियानले समुदायमा लैङ्गिक हिंसा र महिला अधिकारको विषयमा गहिरो जागरूकता फैलाउने अपेक्षा गरिएको छ।

Next Post

युनेस्को काठमाडौँका नेपाल प्रतिनिधिद्धारा बाँके, बर्दिया भ्रमण तथा अन्तरक्रिया

२०८२ मंसिर ११, बिहीबार १८:३२
नेपालगन्ज,  । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँके युनेस्को क्लबको कार्यालय तथा विभिन्न कार्यक्रम क्षेत्रहरूको विस्तृत अनुगमन तथा अन्तरक्रिया भ्रमण सम्पन्न गरेको छ । भ्रमणको क्रममा टोलीले क्लबको व्यवस्थापन टोली, परियोजना कर्मचारी तथा समुदायस्तरका लाभग्राहीहरूसँग विस्तृत छलफल गरेको थियो । क्लबको कार्यालयमा भएको अन्तरक्रिया बैठकमा क्लबका […]