तिजसँगै मौलाएको विकृति

  ।   २०८२ भाद्र ९, सोमबार ०९:०५

सबिता चन्द ठकुरी

नेपालको हिन्दू समाजमा तिज पर्वलाई महिलाहरूको विशेष पर्वका रूपमा मानिन्छ । तिजको नाम सुन्नासाथ घरका दिदीबहिनीहरू रातो सारी, हरियो चुरा र सुनौलो गहनामा सिँगारिएर नाच्दै, गाएर, दर खाँदै, उपवास बसेको दृश्य सहजै दिमागमा आउँछ । यस पर्वलाई महिलाहरूले वर्षभरि पर्खेर बस्ने गर्छन् । वर्षको अन्य समय भन्दा तिजकै बेलामा दिदीबहिनी भेटघाट, परिवारसँगको आत्मीयता, दैनिकीको कठिन श्रमबाट केही समय छुट्टिने अवसर मिल्छ । तर यतिबेला तिजले आफ्नो मौलिक स्वरूपभन्दा बढी भड्किलो र विवादास्पद स्वरूप धारण गरिसकेको छ । एकातिर यसलाई महिलाहरूको सामूहिकता र एकताको पर्व भनेर व्याख्या गरिन्छ भने अर्कोतर्फ यसैसँगै मौलाएका विकृति र विकर्षणहरूले यसको आस्था र पवित्रतालाई कमजोर बनाइदिएका छन् ।

तिजको उत्पत्ति धार्मिक कथासँग जोडिएको छ । पौराणिक विश्वासअनुसार पार्वतीले भगवान् शिवलाई वर पाउनका लागि कठोर तपस्या र ब्रत गरेकी थिइन् । उनको अटुट श्रद्धा र समर्पणले अन्ततः शिव–पार्वतीको मिलन भयो । यही प्रसङ्गलाई सम्झेर महिलाहरूले तिज ब्रत बस्ने परम्परा सुरु भएको हो । यसैले तिजलाई पतिप्रतिको समर्पण, परिवारको चिरायु र समृद्धिको पर्वका रूपमा लिइन्छ । प्राचीन समयमा तिज महिलाहरूको आत्मिक साधना, श्रद्धा र धार्मिक अभ्यास थियो । महिलाहरूले आफ्नो घर परिवारको कल्याण, पति र सन्तानको दीर्घायुका लागि भगवान् शिव–पार्वतीको पूजा गर्थे । यस पर्वमा आत्मसंयम, तपस्या, भक्ति र श्रद्धा प्रधान हुन्थ्यो ।

तर आज हामीले देखिरहेको तिज पहिलेकै तिज छैन । समयसँगै यसको स्वरूप बदलिएको छ । पहिले साधारण रूपमा, घरमै बसेर पूजा, कथा, भजन र सामूहिक भेटघाटमार्फत मनाइने तिज अहिले महँगा होटल, पार्टी प्यालेस र क्लबमा मनाइने पर्व बनेको छ । पहिले सादगीपूर्ण तर आत्मीय ‘दर खाने’ चलन अहिले लाखौँ रुपैयाँ खर्च गर्ने भोजमा परिणत भएको छ । पहिले तिज गीतहरूमा भगवान् शिव–पार्वतीको गुणगान, जीवन दर्शन र नारीको आत्मसंयम झल्किन्थ्यो, अहिलेका तिज गीतहरूमा प्रेम, रोमान्स, आक्रोश, विद्रोह र कतैकतै अश्लीलता नै प्रधान देखिन्छ ।

तिजसँगै उपभोगवाद र व्यवसायिकरण मौलाएको छ । काठमाडौंदेखि जिल्ला सदरमुकामसम्मका होटल, पार्टी प्यालेस र रेष्टुरेन्टहरू तिजकै बहानामा महँगा दर खाने कार्यक्रम आयोजना गर्छन् । महिलाहरूले हैसियत देखाउनकै लागि लाखौँ रुपैयाँ खर्च गर्ने गरेका छन् । कतिपय परिवारमा महिलाले आफ्ना श्रीमानसँग महँगो गहना र कपडा किनिदिन दबाब दिने चलन पनि मौलाएको छ । यो प्रवृत्तिले मध्यमवर्गीय र विपन्न वर्गका महिलालाई ऋण र आर्थिक संकटतर्फ धकेल्ने गरेको छ । व्यापारीका लागि तिज सुवर्ण अवसर बनेको छ भने उपभोक्ताका लागि अनावश्यक बोझ । फैशन र भड्किलो प्रतिस्पर्धा तिजको अर्को विकृति हो । आजकल तिजलाई “लाल सारी प्रतियोगिता” वा “गहनाको प्रदर्शन” का रूपमा बुझिन्छ । महिलाहरूले महँगो लुगाले मात्र आफ्नो हैसियत देखाउने हो भन्ने मनोविज्ञानले समाजलाई असमानतामा धकेलेको छ । कतिपय परिवारमा महिलाले ऋण लिएर भए पनि महँगो गहना किन्ने गरेको देखिन्छ । यसले कृत्रिम प्रतिष्ठा जन्माएको छ जसले समाजमा दम्भ, इर्ष्या र द्वेष बढाएको छ । गीत–संगीतमा आएको विकृति अझै गम्भीर छ । पहिलेका तिज गीतहरूमा धार्मिकता, सामाजिक मूल्य, नारीको पीडा र जीवन दर्शन प्रतिविम्बित हुन्थे । तर पछिल्ला वर्षमा बनेका तिज गीतहरूमा अश्लीलता, रोमान्स र भड्किलो नृत्य मात्रै देखिन्छ । गीत–संगीतलाई प्रयोग गरेर महिलाको स्वतन्त्रताको बहानामा बजार र मनोरञ्जनलाई प्राथमिकता दिइएको छ । नारी स्वतन्त्रता भनेको शिक्षा, अधिकार, समान अवसर र आत्मनिर्णय हो तर अहिले तिज गीतले प्रस्तुत गरेको स्वतन्त्रता भने भेष र नृत्यमा सीमित छ ।

राजनीतिकरण पनि तिजमा गहिरो रूपमा प्रवेश गरेको छ । महिला सङ्गठन र विभिन्न राजनीतिक दलहरूले तिजलाई आफ्नो शक्ति प्रदर्शन गर्ने मंच बनाएर प्रयोग गर्न थालेका छन् । तिजका अवसरमा आयोजना गरिने कार्यक्रमहरूमा नेताहरूको उपस्थितिलाई प्राथमिकता दिइन्छ, भाषण र प्रचार सामग्री बाँडिन्छ । यसरी धार्मिक र सांस्कृतिक पर्वलाई राजनीतिक प्रदर्शनीमा बदलिनु तिजकै पवित्रताको खिल्ली उडाउनु हो ।

धार्मिक मूल्य र आस्थामा आएको ह्रास अझै दुःखद पक्ष हो । पहिले महिलाहरूले उपवासलाई तपस्या र श्रद्धाको रूपमा लिन्थे । पूजा, कथा, भजन र आध्यात्मिक साधनाले तिजको मूल सारलाई बलियो बनाउँथ्यो । अहिले भने उपवासलाई औपचारिकता मात्र मानिन्छ । पूजा र भजन भन्दा बढी फोटोशुट, भिडियो बनाउन, फेसबुकमा पोस्ट गर्न प्राथमिकता दिइन्छ । यसरी तिजको आध्यात्मिकता पूर्ण रूपमा ओझेलमा परेको छ ।

नारीवादी दृष्टिकोणले तिजलाई फरक–फरक कोणबाट हेर्छ । कतिपय नारीवादीहरू तिजलाई पितृसत्ताले थोपरिएको संस्कार ठान्छन् । उनीहरूको भनाइमा तिज महिलाको स्वतन्त्रताको विरोध हो किनभने यसमा महिलाले पतिका लागि उपवास बसेर आफूलाई कष्ट दिनुपर्छ । तर अर्काे पक्षले तिजलाई महिलाको एकता र सामूहिकताको पर्वका रूपमा व्याख्या गर्छ । यसले दिदीबहिनीलाई भेट्ने अवसर दिने भएकाले सामाजिक महत्त्व अझै कायम छ भन्छन् । तर आज तिजलाई नारी स्वतन्त्रताको नाममा उपभोग र भड्किलो नृत्यमा सीमित पारिएको छ । वास्तविक स्वतन्त्रता भनेको शिक्षा, समानता, अधिकार र अवसरमा आधारित हुन्छ, न कि आडम्बर र भेषमा ।

ग्रामीण र शहरी तिजबीच ठूलो अन्तर देखिन्छ । गाउँमा अझै पनि तिज धार्मिक आस्था, सादगी र सामूहिक ऐक्यबद्धतामा आधारित छ । गाउँका महिलाहरूले घरमै बनेको परिकार खाएर दर खाने, सँगै नाच्ने र कथा सुन्ने गर्छन् । शहरमा भने तिज महँगा पार्टी, फोटोशुट, नाइट क्लब र टिकटक भिडियोमा सीमित भएको छ । यसले सांस्कृतिक विभाजन सिर्जना गरेको छ ।

प्रविधिको प्रभाव तिजमा अझै स्पष्ट छ । सामाजिक सञ्जालले तिजलाई “भिडियो कन्टेन्ट” को व्यापारिक माध्यममा बदलिदिएको छ । टिकटक, युट्युब र फेसबुकमा लाखौँ भिडियो अपलोड हुने गर्छन्, जसमा मौलिकता भन्दा बढी स्टाइल, पोज र दृश्यात्मक आकर्षणलाई प्राथमिकता दिइन्छ । “लाईक र भ्यूज” को प्रतिस्पर्धाले तिजलाई वास्तविक पर्व नभई भर्चुअल पर्वमा रूपान्तरण गरेको छ । यी सबै विकृतिले समाजमा नयाँ समस्या पनि जन्माएका छन् । ऋण लिएर आडम्बर गर्ने प्रवृत्तिले आर्थिक संकट निम्त्याएको छ । सामाजिक असमानता, दम्भ, ईर्ष्या र प्रतिस्पर्धाले सम्बन्धमा दरार ल्याएको छ । सांस्कृतिक क्षरणले युवा पुस्तामा धार्मिक उदासीनता बढाएको छ । नारी स्वतन्त्रताको भ्रामक व्याख्याले वास्तविक नारी आन्दोलनलाई कमजोर बनाएको छ ।

यस्तो अवस्थामा सुधारका मार्ग पनि छन् । तिजलाई मौलिक स्वरूपमै पुनर्जीवन दिन सामूहिक प्रयास आवश्यक छ । मिडिया, कलाकार र समाजसेवीहरूले मौलिक गीत–संगीत, भजन र सांस्कृतिक प्रस्तुति प्रोत्साहित गर्नुपर्छ । उपभोगवादलाई निरुत्साहित गर्दै सरल, सस्तो र आत्मीयतामा आधारित तिज मनाउने अभियान चलाउनुपर्छ । नारी स्वतन्त्रता र अधिकारबारेको विमर्श तिजको नाममा होइन, सामाजिक संरचना र नीतिगत सुधारमार्फत हुनुपर्छ । धार्मिक मूल्य, आस्था र सामूहिकतामाथि जोड दिँदै तिजलाई सांस्कृतिक पहिचानको रूपमा जोगाउनुपर्छ ।

तिज केवल धार्मिक पर्व मात्र होइन, नेपाली महिलाको पहिचान, संस्कार र सामूहिकताको आधार पनि हो । तर उपभोगवाद, भड्किलो प्रतिस्पर्धा, अश्लीलता, राजनीतिकरण र प्रविधिक दुरुपयोगका कारण यसको मौलिकता हराउँदै गएको छ । नारी स्वतन्त्रता र चेतना आवश्यक भए पनि त्यो आडम्बर र विकृतिमा होइन, शिक्षा, समानता, अवसर र अधिकारमा आधारित हुनुपर्छ । यदि अहिले नै हामीले तिजलाई आडम्बररहित, मौलिक र मूल्य–केन्द्रित बनाउन सक्दैनौं भने यो पर्व केवल फोटो र भिडियोको पर्वमा सीमित हुनेछ । त्यसैले तिजलाई विकृतिबाट जोगाउँदै यसको मौलिक स्वरूपलाई पुनःस्थापित गर्नु नै आजको खाँचो हो ।

Next Post

संघ संस्था ऐन, २०८२ को मस्यौदाको विषयमा अन्तरक्रिया

२०८२ भाद्र ९, सोमबार ०९:०५
नेपालगन्ज। नेपाल सरकारले तयार गरेको संघ संस्था ऐन, २०८२ को मस्यौदाको षियमा नेपालगन्जमा अन्तरक्रिया तथा छलफल गरिएको छ । गैरसरकारी सस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा मंगलबार सो अन्तरक्रिया भएको हो । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई […]