सबिता चन्द ठकुरी
नेपालगन्ज । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टसँग भएको भेटघाटपछि नेपालगन्जका उद्यमी व्यवसायीहरूले “अब दिपेन्द्र बिष्टको विकल्प छैन” भन्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। भेटका क्रममा बिष्टले प्रस्तुत गरेको विकासको दृष्टिकोण, मिहिनेत र प्रतिबद्धताले उद्यमी समुदायलाई आशावादी बनाएको उहाँहरूको भनाइ छ।
नेपालगन्जका उद्योग, व्यापार र सेवा क्षेत्रमा क्रियाशील व्यवसायीहरूसँगको अन्तरक्रियामा बिष्टले स्थानीय उत्पादनको संरक्षण र बजारीकरण, लगानीमैत्री नीति, रोजगारी सिर्जना, युवा उद्यमशीलताको प्रवर्द्धन र व्यवसायमैत्री कानुनी सुधारलाई आफ्नो प्राथमिक एजेन्डा रहेको स्पष्ट पार्नुभयो । “राजनीति नाराभन्दा परिणामले मापन हुनुपर्छ,” बिष्टले भन्नुभयो, “स्थानीय अर्थतन्त्र सबल भए मात्र जनजीवन सहज हुन्छ।”
उद्यमी व्यवसायीहरूले बिष्टलाई काम गरेर देखाउने युवा नेतृत्वको रूपमा मूल्यांकन गर्दै वर्तमान परिस्थितिमा यस्तै प्रतिबद्ध प्रतिनिधिको आवश्यकता रहेको बताउनु भयो । एक उद्यमीले भन्नुभयो, “बिष्टले समस्यालाई नजिकबाट बुझ्नु भएको छ । उद्योग–व्यवसायको वास्तविक पीडा सुन्ने र समाधानतर्फ अग्रसर हुने नेता आजको आवश्यकता हो, र त्यो गुण बिष्टमा देखिन्छ।”
स्थानीयबासीहरू पनि बिष्टको उम्मेदवारीप्रति उत्साहित देखिएका छन् । उहाँहरूका अनुसार मिहिनेती, इमानदार र जनतासँग सधैं सम्पर्कमा रहने स्वभावका कारण बिष्टप्रति सर्वसाधारणको भरोसा बढ्दै गएको छ । “हामीलाई भाषण होइन, काम चाहिएको हो,” एक स्थानीयले भन्नुभयो, “बिष्टको उम्मेदवारीले परिवर्तनको विश्वास दिलाएको छ।”
भेटघाटका क्रममा बिष्टले सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरण, कृषि र साना उद्योगलाई सहुलियत, युवालाई सीप र पूँजीमा पहुँच सुनिश्चित गर्ने योजना पनि साझा गर्नुभयो । यसले व्यवसायी मात्र होइन, युवा र श्रमिक वर्गमा समेत सकारात्मक सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया छ।
उद्यमीहरूको समर्थन, स्थानीयको भरोसा र युवाको सक्रिय सहभागितासँगै बाँके क्षेत्र नं. २ मा चुनावी माहोल थप ऊर्जाशील बन्दै गएको देखिन्छ। विश्वास, प्रतिबद्धता र कामको एजेन्डासहित दिपेन्द्र बिष्ट—अब विकल्प होइन, अपेक्षा बन्नुभएको छ ।



