केपी घिमिरे
नेपालको श्रमिक आन्दोलन, विशेषगरी ट्रेड युनियन आन्दोलन विगत केही दशकयता आर्थिक, सामाजिक र राजनीतिक संरचनाका विविध चुनौतीहरूको सामना गर्दै आइरहेको छ। गतवर्षदेखि यो आन्दोलनमा देखिएका कमजोरीहरूले श्रमिक वर्गमा व्यापक निराशा र विश्वासघातको भावना पैदा गरेका छन्। यसले नेपालका उद्योग, कलकारखाना र संघसंस्थाहरूमा हुने श्रमिक आन्दोलनलाई कमजोर पार्दै आएको छ। वास्तविकतामा यो समस्या केवल नेतृत्वमा मात्र होइन, संगठनात्मक संरचना, राजनीतिक हस्तक्षेप, आर्थिक पारदर्शिता, तथा श्रमिक र व्यवस्थापन बीचको संवादको कमीमा पनि व्यापक रूपले फैलिएको छ। यस आलेखमा यी सबै पक्षलाई तथ्य र अनुसन्धानको आधारमा विश्लेषण गरिएको छ ।
नेतृत्वमा समस्या : पद लालसा, पारदर्शिताको अभाव र राजनीतिक संलग्नता
नेपालका ट्रेड युनियनहरूमा नेतृत्वमा देखा परेको सबैभन्दा गम्भीर समस्या भनेको व्यक्तिगत स्वार्थ र पद लालसाले भरिएको नेतृत्व प्रणाली हो । विभिन्न अध्ययन र सर्वेक्षणहरूले देखाएका छन् कि युनियन नेताहरू आफ्नो पद सुरक्षित राख्न र राजनीतिक फाइदा लिन एकअर्कासँग गुटबन्दी र प्रतिस्पर्धामा लाग्ने गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ लगायत विभिन्न युनियनहरूको भित्री संघर्ष र नेतृत्व विवाद नियमित समाचार बन्न पुगेका छन् । यस्तो वातावरणमा नेतृत्वमा जवाफदेहिता र पारदर्शिताको कमी हुनु स्वाभाविक हो । आर्थिक पारदर्शिताको अभावले पनि सदस्यहरूबीच अविश्वासको माहोल बनाउँछ । युनियनको कोष व्यवस्थापन र बजेटबारे खुलेर जानकारी नदिइएको, अनियमितता भएको जस्ता आरोपले सदस्यहरूलाई नेतृत्वप्रति शंका उब्जाएको छ ।
यस्तै, युनियनहरू प्रायः राजनीतिक दलहरूको प्रभावमा रहँदै आएका छन् । कुनै युनियन राजनीतिक दलसँग गाँसिएपछि आफ्नो स्वतन्त्रता गुमाउने र दलको स्वार्थमा आन्दोलन र निर्णयहरू प्रभावित हुने खतरा देखिन्छ । यसले श्रमिक आन्दोलनलाई राजनीतिक द्वन्द्वमा फसाउने र वास्तविक समस्याबाट ध्यान भट्काउने काम गरेको छ। उदाहरण स्वरूप, नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसलगायत प्रमुख दलहरूका प्रभावमा पर्ने युनियनहरूले यिनै दलहरूको नीतिलाई समर्थन गर्दै गुटगत द्वन्द्व सिर्जना गर्ने गरेको पाइन्छ।
संगठनमा समस्या : विभाजन, ऐक्यबद्धताको अभाव र प्रभावकारी वार्ताको कमी
नेपालमा एउटा उद्योग वा कम्पनीमा दुई वा दुईभन्दा बढी युनियनहरूको अस्तित्व एक सामान्य विषय हो। यस्ता बहुल युनियनहरूले आ–आफ्नो एजेन्ट राजनीतिक समूह वा गुटको प्रतिनिधित्व गर्छन् । यसले गर्दा साझा एजेण्डा बनाउन सकिने सम्भावना न्यून हुन्छ । विभाजित युनियनहरूले श्रमिकको समस्यालाई सम्बोधन गर्न भन्दा पनि एकअर्कासँग प्रतिस्पर्धा र द्वन्द्वमा ऊर्जा खर्च गर्छन् । यसले औद्योगिक शान्ति कायम राख्न समस्या निम्त्याउँछ र श्रमिक आन्दोलनलाई कमजोर बनाउँछ।
अर्को महत्त्वपूर्ण पक्ष श्रमिक र व्यवस्थापनबीच वार्ता प्रक्रिया हो । नेपालमा ट्रेड युनियनहरूको नेतृत्वमा व्यावसायिक क्षमता र वार्ता कौशलको अभाव रहेको तथ्यांकले देखाउँछ । वार्तामा प्रभावकारी रणनीति नहुँदा व्यवस्थापन पक्षले दबाबमा नआएर सहजै काम गर्न पाउँछ। वार्ता प्रणाली निष्पक्ष, पारदर्शी र नियमित नभएसम्म श्रमिकका वास्तविक समस्या समाधान हुन सक्दैनन् । यसले आन्दोलनको मुख्य एजेण्डा पूरा गर्न गाह्रो बनाउँछ।
वास्तविक समस्याहरू ओझेलमा पर्ने अवस्था
नेपालका श्रमिकहरूमा महंगी, न्यूनतम ज्याला, रोजगारीको अस्थायित्व, काम गर्ने सुरक्षाको कमी लगायतका जटिल समस्यामा छन् । तथापि युनियनहरूको आन्तरिक द्वन्द्व र नेतृत्व विवादले यस्ता समस्याहरू प्रभावकारी रूपमा उठाउन बाधा पुर्याएको छ । युनियनहरू राजनीतिक खेलका उपकरण बन्न पुगेपछि श्रमिकका समस्याहरू दोस्रो ठाउँमा धकेलिएका छन् ।
समाधानका मार्गहरू
ट्रेड युनियनलाई सशक्त र प्रभावकारी बनाउनका लागि नेतृत्व र संगठन दुबै तहमा सुधार आवश्यक छ । नेतृत्वमा जवाफदेहिता र पारदर्शिता कायम गर्न अनिवार्यता छ। युनियनका कोष र गतिविधिबारे सदस्यहरूलाई नियमित जानकारी गराउनु पर्दछ । साथै, राजनीतिक हस्तक्षेपलाई न्यून पारेर युनियनलाई स्वतन्त्र र समर्पित श्रमिक संगठन बनाउनु जरुरी देखिन्छ ।
संगठनात्मक रूपमा एउटै क्षेत्र वा उद्योगका सबै युनियनहरूले साझा एजेण्डा बनाउनु आवश्यक छ। बहुल युनियन प्रणालीको पुनः समीक्षा गरिनुपर्छ जसले श्रमिकहरूको हितलाई प्राथमिकता दिने गर्छ । वार्ता प्रक्रिया सुधार गरी नेतृत्वमा वार्ता कौशलता विकास गर्न तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।
निष्कर्ष
नेतृत्वको कमजोरी र संगठनात्मक समस्याहरूले मिलेर नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाएका छन् । यसको परिणाम स्वरूप श्रमिक आन्दोलन प्रभावहीन भएको छ र श्रमिकहरूको वास्तविक समस्याहरू उपेक्षित छन् । यस अवस्थालाई सुधार्न नेतृत्वमा पारदर्शिता, जवाफदेहिता र राजनीतिक स्वतन्त्रता अनिवार्य छ भने संगठनात्मक रूपमा साझा संघर्षका लागि एकता अपरिहार्य छ । यदि यस्ता सुधारहरू हुँदैनन् भने ट्रेड युनियन आन्दोलनले आफ्नो उद्देश्य पुरा गर्न सक्ने सम्भावना न्यून हुन्छ र श्रमिक वर्ग अझ बढी असुरक्षित बन्नेछन् । (लेखक: संचारकर्मी हुनुहुन्छ ।)





