काठमाडौं । नेपालमा गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक आन्दोलनलाई केन्द्रमा राखेर तयार गरिन लागेको नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ को निर्माण प्रक्रिया सुरु भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्नुभयो ।
पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले चलचित्रले नयाँ पुस्तालाई नेपालको राजनीतिक इतिहास विशेषतः गणतन्त्र स्थापनाको आन्दोलन, त्यसपछिको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाबारे जान्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन यस्तो प्रयास आवश्यक छ,” प्रचण्डले भन्नुभयो ।
रुद्राक्ष फिल्म्स प्रा.लि. को व्यानरमा निर्माण हुन लागेको यस चलचित्रको निर्देशन उपेन्द्र तिमिल्सिना ले गर्दै हुनुहुन्छ । निर्माण टिमका अनुसार चलचित्रको छायांकन भदौ दोस्रो साताबाट सुरु गरिनेछ भने प्रदर्शन मिति फागुन १ गतेका लागि तय गरिएको छ। निर्माता रुद्र प्रसाद खनाल का अनुसार चलचित्रमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न जनआन्दोलनहरूको पृष्ठभूमि, जनताको योगदान र त्यसले ल्याएको परिवर्तनलाई समेटिएको छ। निर्देशक तिमिल्सिनाले यस चलचित्र सत्य घटनामा आधारित हुने र नयाँ पुस्ताका दर्शकहरूलाई नेपालको राजनीतिक इतिहास बुझ्न सघाउने बताउनु भयो ।
चलचित्रको छायांकन रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया, पूर्वी नेपालका धनकुटा, खोटाङ, भोजपुर, तथा तराई मधेसको सर्लाही जिल्लामा गरिने निर्माण पक्षले जनाएको छ। ‘जनक्रान्ति’ चलचित्रलाई नेपाली समाजको ऐतिहासिक राजनीतिक रुपान्तरणको दस्तावेजका रूपमा समेत हेर्ने अपेक्षा गरिएको छ।





