‘नेपालगन्ज नाइट रन’ ले पायो अन्तर्राष्ट्रिय मान्यता, एम्समा आबद्ध हुने नेपालको चौथो दौड

  ।   २०८२ असार २८, शनिबार १४:२०

नेपालगन्ज । नेपालको एक मात्र रातको समयमा हुने १० किलोमिटर दौड प्रतियोगिता ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा औपचारिक रूपमा प्रवेश गरेको छ। एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) मा आबद्ध भएसँगै यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्यालेन्डरमा सूचीकृत हुने भएको छ।

नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टी.एस. ठकुरीका अनुसार, “यस मान्यताले सहरको अन्तर्राष्ट्रिय पहिचानमा नयाँ आयाम थप्नेछ र विदेशी धावकहरूलाई आकर्षित गर्नेछ।”

गत वर्षदेखि संविधान दिवसको अवसर पारेर असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुँदै आएको ‘नेपालगन्ज नाइट रन’ एम्समा आबद्ध हुने नेपालको चौथो दौड हो। यसअघि काठमाडौं म्याराथन, पोखरा म्याराथन र नेपालगन्ज म्याराथनले मात्र उक्त मान्यता प्राप्त गरेका थिए।     
यो आबद्धतासँगै नेपालगन्ज नेपालकै पहिलो सहर बनेको छ, जहाँ एम्स द्वारा मान्यता प्राप्त दुई स्पर्धा — ‘धारा नेपालगन्ज म्याराथन’ र ‘नेपालगन्ज नाइट रन’ — सञ्चालन हुँदै आएका छन्।

नेपालगन्ज म्याराथन अन्तर्गत ‘काठमाडौं २५ के हेरिटेज रन’, ‘कर्णाली हाफ म्याराथन’ र ‘गौघाट ग्रीन रन’ पनि वार्षिक रूपमा सञ्चालन हुँदै आएका छन्। ठकुरीका अनुसार, यी सबै दौडलाई क्रमशः अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास जारी छ।

हालै काठमाडौंमा सम्पन्न ‘नेपाल इन्टरनेशनल रनिङ कन्फरेन्स’ तथा ‘२५ के हेरिटेज रेस’ का अवसरमा एम्सको बोर्ड बैठक सम्पन्न भएको थियो। सोही अवसरमा एम्स अध्यक्ष तथा स्पेनका नागरिक पाको बोराओले नेपालगन्ज म्याराथनको रुटको अवलोकनसमेत गर्नुभएको थियो ।

एम्सको सदस्यता प्राप्त गरेपछि नेपालगन्जका दौडहरू अन्तर्राष्ट्रिय धावकहरूको पहुँचमा पुग्नेछन्, जसले पर्यटन प्रवर्द्धनदेखि स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Next Post

बाँके ख्रीष्टियन समाजको अधिवेशन सम्पन्न, शेरबहादुर बोहराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२०८२ असार २८, शनिबार १४:२०
नेपालगन्ज ।  बाँके ख्रीष्टियन समाजको अधिवेशन आइतबार कोहलपुरको आनन्द एजि चर्चमा सम्पन्न भएको छ। समाजका अध्यक्ष पास्टर धनबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा बाँके जिल्लाभरका ६५ चर्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रारम्भमा समाजका सचिव डा. पास्टर डम्बरबहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने, कोषाध्यक्ष पास्टर रामबहादुर थापाले आर्थिक प्रतिवेदन पेश […]