जलवायु न्यायका १६ मागसहित प्रदेश र स्थानीय सरकारको ढोका ढकढक्याउँदै नेटवर्क

  ।   २०८२ असार १६, सोमबार २०:४८

सबिता चन्द
नेपालगन्ज । लुम्बिनी प्रदेशमा जलवायु न्यायको पक्षमा सशक्त हस्तक्षेप गर्दै जलवायु कार्य तथा न्याय नेटवर्कले सक्रियता बढाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम तयार गर्दै गर्दा नेटवर्कले जलवायु तथा वातावरणीय मुद्दालाई प्राथमिकता दिन आह्वान गर्दै प्रदेश र स्थानीय सरकारहरूलाई भेटेर ध्यानाकर्षण गराएको हो।

असार १४ र १५ गते, नेटवर्कको टोलीले लुम्बिनी प्रदेश सरकारका मुख्य सचिव बाबुराम अधिकारी, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरमार्फत मुख्यमन्त्री चेतनारायण आचार्यलाई जलवायु न्याय र प्राकृतिक स्रोत संरक्षणसँग सम्बन्धित १६ बुँदे ज्ञापनपत्र बुझायो। सो ज्ञापनमा जलवायु परिवर्तन, बाढी, पहिरो, खडेरी, आगलागी र डुवानबाट हुने धनजनको क्षति, खाद्य उत्पादनको गिरावट, जैविक विविधताको संकट र स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरहरूबारे सरकारको ध्यानाकर्षण गराइएको थियो।

टोलीले घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, कपिलबस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ता र कपुरकोट गाउँपालिका–१ का वडाध्यक्षलाई पनि कार्यालयमै पुगेर ध्यानाकर्षण गराएको थियो। जलवायु संकटले दलित, महिला, आदिवासी जनजाति, मुस्लिम, मधेसी, अपाङ्ग, वालबालिका र जेष्ठ नागरिक जस्ता सीमान्तकृत समुदायहरूलाई प्रत्यक्ष असर गरिरहेको उल्लेख गर्दै ज्ञापनपत्रमा यिनको सुरक्षाको माग गरिएको छ।

स्थानीय खोलानालाबाट हुने जथाभावी ढुंगा, गिट्टी, बालुवा उत्खनन् र जलस्रोतको विनाशले खानेपानी र सिंचाइमा समस्या निम्त्याइरहेको, र वातावरणीय क्षतिको जोखिम बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। समुदायमा जलवायु उत्थानशीलता बढाउन र स्थानमै आधारित समाधानहरूलाई प्रभावकारी बनाउने नीति निर्माणमा सबैको सहभागिता आवश्यक रहेको पनि नेटवर्कको धारणा छ। जैविक मलको प्रवर्द्धन, विषादी र रासायनिक मलको प्रयोग नियन्त्रण, फोहर व्यवस्थापनलाई व्यवस्थित गर्दै जैविक मल उत्पादन केन्द्रको स्थापना, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण, पूर्वसूचना प्रणाली सुदृढीकरण, वायु प्रदूषण निगरानी र सेन्सर जडानजस्ता विषयमा पनि सरकारलाई चासो लिन आग्रह गरिएको छ।

डढेलो नियन्त्रण र विपद् व्यवस्थापनमा स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह र नागरिक संस्थाहरूको समन्वयमा सञ्जाल निर्माण गरी स्रोतसाधन परिचालन गर्ने माग गरिएको छ। साथै, प्रदेश क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा प्राकृतिक महत्वका स्थलहरूमा प्लास्टिकजन्य वस्तुको प्रयोग रोक्न, फोहर व्यवस्थापनमा कडाइ गर्न र नियमित अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

नेटवर्कको टोली संयोजक नमस्कार शाहको नेतृत्वमा हेमराज भट्ट, कैलास बिक्रम शाही, हेमन्तराज माफ्ले, रमेश सिटौला, जोशीना थारु र समिर वली सहभागी थिए।

Next Post

बाँके खजुराका विद्यालयहरूमा फलफुलका बिरुवा वितरण

२०८२ असार १६, सोमबार २०:४८
बाँके । खजुरा गाउँपालिकाले वातावरण संरक्षण र फलफुल उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिका भित्रका विभिन्न विद्यालयहरूमा फलफुलका बिरुवा वितरण गरेको छ। गाउँपालिकाको वातावरण शाखामार्फत सञ्चालित यो अभियानले खजुरालाई दीर्घकालीन रूपमा फलफुलको हब बनाउने लक्ष्य राखेको छ। शाखा प्रमुख नेत्रलाल महतराका अनुसार, आप, लिची, अम्बा, कागती र अनार प्रजातिका गरी कुल […]

सम्बन्धित शीर्षक