सबिता चन्द
बाँके, बैजनाथ । बैजनाथ गाउँपालिका–३ का अन्दाजी ५२ वर्षीय रनबहादुर दमाई मृत अवस्थामा फेला परेका छन् । २०८१ माघ ८ गतेदेखि हराइरहेका दमाई असार ६ गते बैजनाथ–६, गरैस्थित १ नम्बर चोकमा स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृतकको शव गनाएको र क्षतविक्षत अवस्थामा फेला परेको छ । शवको अवस्था हेर्दा केही दिन अघिको हुन सक्ने अनुमान गरिएको छ।
मृतक रनबहादुर दमाईको मानसिक अवस्था कमजोर रहेको र मध्यपान गर्ने बानी रहेको परिवारजनले जानकारी दिएका छन्। हराएको एक महिनापछि,२०८१ फागुन ११ गते परिवारले इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएपछि खोजी कार्य सुरु गरिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव परिवारको जिम्मा लागाउने प्रक्रिया भैरहेको कोहलपुर प्रहरीले जनाएको छ ।
स्थानीयवासीले घटनास्थलको अवस्था देख्दा शंका लाग्दो रहेको बताए पनि घटनाको कारण र परिस्थितिबारे प्रष्ट खुल्न बाँकी नै छ । प्रहरीले घटनालाई गम्भीर रुपमा लिएको र आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।



