
सबिता चन्द
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को नेतृत्वमा युद्धका घाउ बोकेका योद्धा पुष्प ओली सर्वसम्मत रुपमा चयन हुनुभएको छ । माओवादी जनयुद्धमा गम्भीर घाइते हुनुभएका ओलीको संगठनप्रतिको समर्पण, त्याग र दृढता उहाँको नेतृत्वमा पुग्ने आधार बनेको हो ।
वाइसिएलको महासचिवमा गणेश शाहीको नाममा सहमति जुटिसकेको छ भने अन्य पदाधिकारीको टुंगो लगाउन बाँकी छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको हो।
घाइते योद्धादेखि संगठन प्रमुखसम्मको यात्रा
.स. २०४३ साल पुस ७ गते दाङको पवन नगरमा जन्मिनु भएका पुष्प ओली विद्यार्थी जीवनदेखि नै तेज र क्रियाशील हुनुहुन्थ्यो । तर, तत्कालीन माओवादी जनयुद्धले उहाँको जीवन मोड नै बदलिदियो । बि.सं. २०५७ सालमा अध्ययन छोडी अखिल (क्रान्तिकारी) मा आवद्ध भई उहाँ राजनीतिमा होमिनु भ्यो । बि.सं. २०५९ सालमा पूर्णकालीन कार्यकर्ता बनेर जनयुद्धमा सहभागी हुनु भएका उहाँ, २०६२ सालमा तनहुँको डुम्रेमा बम विस्फोटमा परेर गम्भीर घाइते हुनुभयो ।
घटनामा उहाँको आँखामा, मुखमा, हात र खुट्टामा गम्भीर चोट लाग्यो, र आज पनि उहाँ शरीरभित्र गोलीका छर्रा बोकेर हिँडिररहनु भएको छ । यो कुराले उहाँको बलिदान र योगदानलाई अझ सजीव बनाएको छ। उहाँ लजमुङको रिपिटर टावर आक्रमणमा समेत प्रत्यक्ष सहभागी हुनुभएको थियो ।
राजनीतिक पुनःस्थापना र संगठनभित्रको उचाइ
माओवादी शान्ति प्रक्रियामा आएपछि बि.सं. ०६३ सालमा काठमाडौं सरुवा हुनु भएका ओलीले पार्टीको जिल्ला सदस्य (डिसीएम) को हैसियतमा काम थाल्नु भयो । त्यसैबर्ष वाइसिएल भक्तपुरको सचिवालय सदस्य भएर सक्रिय योगदान दिनु भएको थियो ।
उहाँको निरन्तर सक्रियता र समर्पणका कारण वाइसिएलको विभिन्न तह हुँदै उहाँले केन्द्रीय सचिव, उपमहासचिवजस्ता जिम्मेवारीमा रहेर काम गरिसक्नु भएको छ । पछिल्लो समय, धेरैजसो नेताहरू उमेर हदका कारण पदबाट बाहिरिएपछि, संगठनको नेतृत्व स्वाभाविक रूपमा ओलीको काँधमा आएको हो।
सङ्घर्ष र नेतृत्वको संगम
पुष्प ओलीको नेतृत्वमा वाइसिएलले अब कुन दिशा लिन्छ भन्ने कुरामा चासो बढेको छ। युद्धकालीन संघर्ष, घाइते शरीर र संगठनप्रतिको निष्ठाले उहाँ भित्र नेतृत्वको साहस र दृष्टिकोण विकास गराएको विश्लेषकहरू बताउँछन्।
यो नेतृत्व परिवर्तनले वाइसिएलमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ। तर, संगठनलाई समय अनुकूल, शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासमा कसरी लैजाने भन्ने चुनौती ओलीको नेतृत्व समक्ष उभिएको छ।



