सबिता चन्द,
नेपालगन्ज । सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग र त्यसबाट उत्पन्न स्वास्थ्य समस्यालाई लिएर नेपालगन्जमा शुक्रबार एक विशेष कार्यक्रम सम्पन्न भएको छ । स्वस्तिक कटेज, नेपालगन्जमा आयोजना गरिएको जोखिम संचार तथा सहभागिताु कार्यक्रममा सरोकारवाला र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बास नेपालको समन्वय तथा जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले सुर्तीजन्य पदार्थ नियन्त्रणका नीति र नियमहरू पर्याप्त भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको धारणा राख्नुभयो । उहाँले स्पष्ट रूपमा भन्नुभयो, “लागू पदार्थ र सुर्तीजन्य वस्तुले स्वास्थ्यमा पार्ने प्रभाव गम्भीर र भयावह छन्। अब प्रदेश सरकारले यस क्षेत्रमा कडाइका साथ अघि बढ्नेछ।” सचिव श्रेष्ठले नीति मात्रै बनाउने होइन, त्यसलाई लागू गर्ने पक्षमा समेत प्रदेश सरकार गम्भीर रहेको संकेत दिनुभयो। त्यस्तै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश बाबु श्रेष्ठले सार्वजनिक स्थानहरूमा खुलेआम सुर्तीजन्य पदार्थको प्रयोग हुँदै आएको उल्लेख गर्दै नीति निर्माण तहमा ठोस पहलको खाँचो औंल्याउनुभयो। उहाँले सचिव स्तरमै सरोकार देखिएकाले अब केही ठोस परिवर्तन आउने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक जयनारायण उपाध्यायले सुर्ती र निकोटिन उद्योगका रणनीति, लतको चक्र, स्वास्थ्यमा पार्ने असर, कानुनी प्रावधान तथा नेपालको भूमिका जस्ता विषयमा जानकारीमूलक प्रस्तुति दिनुभयो। उहाँले उद्योगहरूले प्रयोगकर्तालाई जानीजानी लतमा फसाउने छलपूर्ण उपायहरू अपनाउने गरेको चेतावनी दिनुभयो ।
कार्यक्रममा बास नेपालका निर्देशक नमस्कार शाह, नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरञ्जीवी ओली, साथै सञ्चारकर्मीहरू र सरोकारवालाहरूले आफ्ना धारणा, सुझाव र जिज्ञासा राख्दै सुर्ती नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने आवश्यकतामाथि जोड दिनुभएको थियो ।