बर्दियाका विभिन्न पालिकाका वडाहरुलाई बालविवाहमुक्त घोषणा गर्ने अभियान

  ।   २०८२ बैशाख २८, आईतवार १२:३३

नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत सो पालिकाका वडाहरुलाई एकपछि अर्को गरि बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यलाई तिव्र पारिएको छ । सो क्रममा पछिल्लो पटक मधुवनको वडा नं. ६ लाई एक भव्य कार्यक्रमकाबिच मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बालविवाहमुक्त वडा घोषणा गर्नुभयो ।
सो अवसरमा बोल्दै मेयर भाटले तीन वर्षभित्र मधुवनमा बालविवाह दर शून्यमा झार्ने र वि.सं. २०८५ सालभित्र सम्पूर्ण वडालाई बालविवाहमुक्त घोषणा गर्ने गरि पालिकाका काम भइरहेको बताउनुभयो ।

उहाँले सोही अवसरमा हस्ताक्षर अभियानको उदघाटन गर्दै उपस्थित सरोकारवालाहरूबाट १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गराउनु भयो । वडा नं. ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको बालविवाहमुक्त घोषणा कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, अभिभावक, राजनीतिक दल, विद्यार्थी, प्रहरी लगायतका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बि.ग्रुपको साझेदारी, प्राविधिक सहयोग र समन्वयमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले बालबिवाहमुक्त घोषणा मात्रै नभई यसको प्रभावकारी कार्यान्वयन र फलोअप कार्यक्रम सञ्चालनमा जोड दिँदै बाँकी वडाहरूमा पनि सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सो घोषणा कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बीक, बि.ग्रुपका कार्यकारी निर्देशक डम्मर बिक, कार्यक्रम प्रबन्धक भानु लिम्बू, शिक्षा प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्मा, प्लान इन्टरनेशनल नेपाल बर्दिया जिल्ला कार्यक्रम अधिकृत सुष्मा घर्ती मगर र वडा अध्यक्षका प्रतिनिधि दिलीप गुरुङ लगायतले मन्तव्य व्यक्त गर्दै कार्यान्वयन पक्षलाई सशक्त बनाउँदै अन्य वडालाई पनि घोषणा गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

मधुवन नगरपालिका बालविवाह न्यूनीकरण कार्यविधि २०७७ अनुसार १५% भन्दा कम बालविवाह दर भएका वडालाई बालविवाहमुक्त वडा घोषणा गर्न सकिने प्रावधानअनुसार, हाल वडा नं. ६ को बालविवाह दर १३% रहेको हुँदा यसलाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

मधुवन नगरपालिकामा बालविवाह न्यूनीकरणमा महत्वपूर्ण योगदान पुयाउने बाँके युनेस्को क्लब, बि.ग्रुप, प्लान इन्टरनेशनल नेपाल, महिला स्वयंसेविका, किशोरी क्लब, अगुवा बडाघर, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, दलित महिला संघ लगायत विभिन्न सांस्कृतिक समूहहरूलाई कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

 

Next Post

मानव बेचविखन नियन्त्रण समितिको क्षमता विकासका लागि तीन दिने तालिम शुरु

२०८२ बैशाख २८, आईतवार १२:३३
नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा मानव बेचविखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुकालागि बाल संरक्षण तथा मानव बेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो । […]

सम्बन्धित शीर्षक