बाँके। डुडुवा गाउपालिका वडा नम्बर ५ मा सनिवार नाक, कान तथा घाँटी रोगको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट स्थानीय १ सय २० जना लाभान्वित भएका छन् ।
असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र नेपालगन्जको प्राविधिक सहयोग र ५ नम्बर वडा कार्यालयको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा १ सय २० जना बिरामीहरुको चेकजाँच गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष झंक बहादुर थापाले बताउनुभयो ।
५० जना पुरुष र ७० जना महिला गरि १ सय २० जना स्थानीय नागरिकको नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र नेपालगन्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर प्रकाश बसेलले बताउनुभयो । ६ महिनाको बालबालिकादेखि ७५ वर्षका जेष्ठ नागरिक समेतको सवास्थ्य चेकजाँच गरिएको डाक्टर बसेलले बताउनुभयो ।
शिविरमा कान कम सुन्ने, कान सुन्निएका, कानको जालीमा प्वाल परेका, नाक सुन्निएका र घाँटी लगायतका बिरामीहरुलाई चेकजाँच गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका, विपन्न बिरामीहरुलाई विशेष छुट दिएर उपचार गरिने असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख समेत रहनुभएका डाक्टर बसेलले बताउनुभयो । नेपालगन्ज पुगेर ८ सय रुपैयाँ चेकजाँच गरेको तिर्नु पर्ने बाध्यताबाट बचेको नाक कान घाँटीका अधिकांश विरामीले बताउनु भयो । ´घरमै आएर हामीलाई चेकजाँच गर्न कस्ट गर्नुभएकोमा धन्यवाद डाक्टर साब भन्दै स्थानीय कालु गिरीले डाक्टर बसेललाई धन्यवाद दिनुभयो ।
शिविरमा असल छिमेकीका स्वास्थ्यकर्मीहरु रितु पाण्डे, सबिना चौधरी, ललितराम चौधरी लगायत कम्दी स्वास्थ्य चौकीका कर्मचारीहरुले सहजीकरण गर्नुभएको थियो ।