स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्र चलायमान बनाउन आग्रह

  ।   २०७७ आश्विन ३, शनिबार १२:३७

काठमाण्डौ । नेपाल उद्योग परिसङ्घले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको छ ।

परिसङ्घका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको टोलीले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डाक्टर युवराज खतिवडासँग भेटेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोना सङ्क्रमित नभएका जनशक्तिबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको हो ।

उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा सङ्क्रमण भेटिएमा कन्ट्याक ट्रेसिङका आधारमा कर्मचारी तथा कामदारको पीसीआर परीक्षण गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा परिसङ्घले जोड दिएको छ ।

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यलाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने र चौध दिनसम्मको क्वरेण्टीनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वरेण्टीनको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको परिसङ्घले जनाएको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा होटललाई आबद्ध गराएर उपचार तथा क्वरेण्टीन र आइसोलेशनका सेवा प्रदान गर्न निजी क्षेत्रलाई पनि दिनुपर्ने माग परिसङ्घको छ ।

मौद्रिक नीतिमा व्यवस्था भएका कतिपय व्यवस्था कार्यान्वयनमा नआएको तथा उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युत्को डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने बजेट मार्फत घोषणा गरिएकामा अहिलेसम्म कार्यान्वयनमा नआएको विषयमा परिसङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले परिसङ्घले उठाएका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र कतिपय विषय कार्यान्वयन तहमा छलफल रहेको बताउनुभएको छ । उज्यालो अनलाइन

Next Post

मनसुनमा २ सय ४० प्रतिशतभन्दा बढी पानी पर्‍यो

२०७७ आश्विन ३, शनिबार १२:३७
काठमाण्डौ । यसपालिको मनसुनमा वार्षिक औसतभन्दा २ सय ४० प्रतिशत बढी पानी परेको छ । कुनै एउटा क्षेत्र विशेषमा दुई सय मिलिमिटरसम्म पानी परेको मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार सय मिलिमिटरभन्दा बढी पानी पर्नुलाई बाढी पहिरोको उच्च जोखिम मानिन्छ । बाढीरपहिरोबाट ४९ जिल्ला बढी प्रभावित भएका छन् । वैशाखयता […]

सम्बन्धित शीर्षक