घेरिए पल शाह, सिनेरोयलमा रेकर्ड ब्रेक, भोलि दाङ र पर्सि धनगढी पुग्दै

  ।   २०८१ जेष्ठ १९, शनिबार २०:५५

नेपालगन्ज। दशौँ दिनमा चलिरहेको नेपाली चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहलाई नेपालगन्जमा दर्शकद्वारा भव्य स्वागत भएको छ। यहाँका हल सिनेरोयलमा उहाँ आउने जानकारी पाएका दर्शकले घण्टौँ अगाडीदेखि पर्खेर बसेका थिए ।पलको प्रवेश सँगै हल परिसरमा दर्शकको उत्साह थपिएको थियो । नेपालगन्जको प्रचण्ड गर्मीको समेत प्रवाह नगरी हल बाहिरै दर्शकले घेरा हालेका हल मालिकले बताउनु भयो ।

नेपालगन्जका हल सिनेरोयलमा हाउसफुल दर्शकहरू रहेपछि पल दिनभर नेपालगन्जमा नै रहने हुनुभएको छ । उहाँले आफूले सबै दर्शकलाई भेटेरै मात्र यहाँबाट फर्किने बताउनु भयो । उहाँले सिनेरोयलमा रहेको राती ९.१५ बजेको अन्तिम शो का दर्शकलाई समेत भेट्ने बताउनु भयो । सनिवार सिनेरोयलमा प्राप्त आठ वटा शोमा मध्यान्हसम्मका सबै शो हाउसफुल भएको हल स्रोतले जनाएको छ । मध्यान्हपछिका शोहरू पनि लगभग सबै टिकट बिक्री भइसकेको हल श्रोतको भनाइ छ ।

पलसँगै चलचित्रका निर्देशक दिनेश राउत पनि नेपालगन्ज पुग्नुभएको थियो । सफलताका साथ चलिरहेको आफ्नो चलचित्र हेर्न आएका सयौँ दर्शकमाझ पुग्दा पाएको सुखद प्रतिक्रियाबाट राउत निकै खुसी हुनुभयो । हाउसफुल दर्शकमाझ उभिनुभएका राउतले आफ्नो चलचित्रको व्यावसायिक सफलता दिलाउने दर्शकलाई धन्यवाद व्यक्तसमेत गर्नु भयो । दर्शकले चलचित्र राम्रो रहेको प्रतिक्रिया पाइरहेको उहाँले बताउनु भयो ।

सिनेरोयलमा आयोजित पत्रकार भेटघाटमा अभिनेता शाहले सकेसम्म नेपाल र विदेशमा रहेका सबै दर्शकमाझ पुग्ने आफ्नो चाहना रहेको बताउनु भयो । “देश विदेशका दर्शकहरूबाट हामीलाई निम्तो आइरहेको छ। म भर्खरै जापान पनि पुगेर आएँ। अहिले हामी पश्चिम नेपालका दर्शक भेटिरहेका छौँ। बिस्तारै हामी अन्य स्थानहरूमा पनि पुग्नेछौँ,” शाहले भन्नुभयो ।

गत बुधवार आदर्शनगरस्थित सिनेरोयल हलमा नेपाली चलचित्रको रेकर्ड नै ब्रेक भएको हलका सिइओ रितेश श्रेष्ठले बताउनु भयो । दश महिना अघि सञ्चालनमा आएको यो हल सञ्चालन भएदेखि गत बुधवार ‘पुजार सार्की’ले प्राप्त गरेको छ वटा शो मा सबै टिकट बिक्री भई ऐतिहासिक रेकर्ड राखेको श्रेष्ठले बताउनु भयो । “हिन्दी चलचित्र बढी हेरिने क्षेत्रमा खुलेको यो हलमा नेपाली चलचित्रको लागि यो भन्दा बढी खुसीको कुरा अरू के होला र ? ‘पुजार सार्की’ले  ऐतिहासिक रेकर्ड राखेको छ। नेपाली चलचित्रको विकासले हामी हल सञ्चालकलाई खुसी दिलाएको छ,” श्रेष्ठले बताउनु भयो ।

अभिनेता शाह, निर्देशक राउतसहितको ‘पुजार सार्की’ टिम भोली आइतबार दाङको भिएफएक्स सिनेमा हल पुग्नुहुनेछ भने सोमबार धनगढीस्थित एसटिएस सिनेमा हलमा पुग्ने तालिका रहेको बताइएको छ ।

Next Post

मेगलाल धितालको नेतृत्वमा कोहलपुर ५ वडा समिति गठन

२०८१ जेष्ठ १९, शनिबार २०:५५
कोहलपुर। नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका वडा नँ ५ को अध्यक्षमा मेगलाल धिताल निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाका सबै वडाहरुमा जेठ मशान्त भित्र वडा सम्मेलन गरिसक्ने भन्ने जिल्ला पार्टीको निर्देशन अनुसार शनिबार कोहलपुर ५ मा भएको छैठौं वडा सम्मेलन बाट धिताल सर्वसम्मत रुपमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको […]

सम्बन्धित शीर्षक