स्थानीय सरकारको प्रतिष्ठा बढाउन लाग्नुहोस् : प्रधानमन्त्री प्रचण्ड

  ।   २०८० माघ १५, सोमबार १६:३८

वीरगञ्ज,  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारको प्रतिष्ठा बढाउनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको गुनासो आउने गरेको भन्दै त्यस्तो गर्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले बढाएको कर्मचारीलाई हाजिर गर्न नदिएर आफूले रूचाएका कनिष्ठहरू ल्याउने र मनपरी रूपमा निमित्त राख्ने प्रवृत्ति बढेको गुनासो छ । स्थानीय सरकारमा आफूले भनेको मान्ने, आफ्ना नाजायज काममा पनि समर्थन गर्ने कार्यकारी होइन, स्थानीय सरकारको प्रतिष्ठा बढाउने कर्मचारी खोज्नुस् ।”

स्थानीय सरकार जनताको पहिलो सरकार भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनतासँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले जस्तो नीति तथा कार्यक्रम बनाउनुहुन्छ, जस्तो व्यवहार गर्नुहुन्छ वा सेवाप्रवाह हुन्छ, सोहीअनुसार राज्यप्रति जनताको धारणा भन्ने हो ।”

जनतामा प्रवाह हुने नकारात्मक भाष्यलाई चिर्न स्थानीय सरकारले मेहेनत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको काम प्रभावकारी हुँदा आमजनताले सङ्घीय सरकारको आलोचना गर्ने र त्यसबाट सिङ्गो व्यवस्थाप्रति नै नकारात्मक सन्देश जानेतर्फ सजग गराउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई सरल रूपमा बढीभन्दा बढी राम्रो सेवा दिने कुरालाई प्राथमिकता दिनुस् ।”

मधेशका स्थानीय तहहरूमा भ्रष्टाचार र बेरूजु बढी भएको, उपभोक्ता समितिमा आफ्ना नातेदार र आफ्नो पार्टीका मान्छे मात्रै राख्ने गरेको सुनिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “राज्यको प्रचलित नीति र कानुनअनुसार प्रक्रिया पुर्‍याएर योग्यलाई नदिई आफ्नालाई दिएको गुनासो आउनुभएन ।”

Next Post

प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवसमा दीप्प प्रज्ज्वलन

२०८० माघ १५, सोमबार १६:३८
नेपालगन्ज : “शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता भन्ने मूल नाराका साथ स्थापना भएको प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस प्रेस सेन्टर नेपाल बाँकेले भव्य रुपमा मनाएको छ । आइतबार साँझ ६:३० बजे स्थानीय बि.पी.चोकमा जम्मा भएर दीप प्रज्वलन गरि स्थापना दिवस मनाएको प्रेस सेन्टर नेपाल बाँकेको […]