बाँकेका ८१ वडा मै कांग्रेसका जिल्ला प्रतिनिधि खट्दै

  ।   २०८० माघ १४, आईतवार १३:४४

नेपालगन्ज, । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँकेमा ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटिने भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको आज बसेको वैठकले ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको अध्यक्षता एवम् ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँके प्रतिनिधि केन्द्रीय सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यहरुलाई जिल्ला प्रतिनिधिका रुपमा खटाउने निर्णय गरेको सचिव सुधांशु कोइरालाले जानकारी दिनु भएको हो ।

कोइरालाका अनुसार जिल्ला प्रतिनिधिलाई भोलि पार्टी कार्यालयमा केन्द्रीय प्रतिनिधि बरालले अभिमुखीकरण गर्नु हुने छ । केन्द्रीय प्रतिनिधि बराल अभियानका क्रममा जिल्लाका ८ वटै पालिकामा सहभागी हुने बताइएको छ । वैठकमा पूर्व पार्टी सभापति एवम् राष्ट्रिय सभा सदस्य युवराज शर्मा, पूर्व सभापति कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापति, पालिका सभापति, सांसद, स्थानीय तहका प्रमुख/उपप्रमुख समेत उपस्थित थिए । कांग्रेसले माघ १६ गतेदेखि माघ २६ गतेसम्म वडा स्तरमा अभियान सञ्चालन गर्न लागेको छ ।

कांग्रेसको अभियान अन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने कांग्रेसले जनाएको छ । जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनका रुपमा लिने अभियानको उद्देश्य रहेको कांग्रेसको भनाई छ ।

अभियानमा जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्य लगायत कार्यक्रम रहने छैनन् । माघ १६ गते शहीद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुनेछ । उक्त दिन ६ हजार ७ सय ४३ वडामा मात्र कार्यक्रम हुनेछ ।

सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्य, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरू आफू क्रियाशील सदस्य रहेको वडामा पुग्नुपर्ने पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त दिन सबै नेता वडाको कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । अभियानको यो चरण माघ २६ गते पार्टीका स्व. सभापति सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।

Next Post

जन ज्योति मा.वि.का अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको कपडा वितरण

२०८० माघ १४, आईतवार १३:४४
नेपालगन्ज  । बाँकेको कोहलपुरमा रहेको श्री जन ज्योति मा.वि. कोहलपुर १ कौशिलानगरका अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको लत्ताकपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत दलित, अति विपन्न, आर्थिक अवस्था कमजोर भएका २४ जना विद्यार्थीहरुका लागि जाडोको न्यानो कपडा स्वीटर वितरण गरिएको पुर्णतारा फाउन्डेसन नेपालको अध्यक्ष तारा […]