नाना रैथाने हाटबजार संचालन

  ।   २०८० मंसिर २४, आईतवार १६:०६

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन भएको छ ।

नेपालगन्जबाट कोक्रोमाको उत्पादन बजारीकरण र विक्रीवितरण गर्दैआएको नाना चाचाले नेपालगन्जमा शनिबार रैथाने वस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन गरेको महिला उद्यमी तथा नाना चाचाका सञ्चालक निता जिसी मल्लले जानकारी दिनुभयो ।

नाना चाचाले सञ्चालनमा ल्याएको रैथाने वस्तुबाट उत्पादन गरिएको हाजटबजारको शनिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अनुगमन गर्नुभएको छ । महिला उद्यमीले आफूले स्थानीयस्तरमा अर्ग्यानिक ढङ्गबाट उत्पादन गरी हाटबजारमा विक्रीवितरण गर्न ल्याउनुभएका वस्तुहरू अवलोकन गर्दै उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र प्रवर्धन गर्न स्थानीय सरकार सदैव तयार रहेको बताउनुभयो ।

“निजीक्षेत्रबाट रैथाने वस्तुबाट उत्पादन गरिएका तरकारी, खाद्यान्न तथा लुगा कपडाको हाटबजार सञ्चालन गरिनु अति नै सराहनीय छ” नगरप्रमुख विष्टले भन्नुभयो, “रैथाने वस्तुका उत्पादनलाई संरक्षण, संवर्धन र प्रवर्धन गर्न निजी क्षेत्रसँग समन्वय गर्न स्थानीय सरकार पनि तयार छ ।”

“शनिबारबाट सञ्चालनमा आएको हाटबजार राख्न छुट्टै स्थान उपलब्ध गराउनका लागि आयोजकले हामीलाई आग्रह गर्नुभएको छ, हामी हाटबजार सञ्चालनका लागि उचित ठाउँको खोजी गरेर नगरभित्र कतै प्रबन्ध गर्नेछौँ” उहाँले भन्नुभयो ।

हाटबजारमा बाँके र बर्दियाका महिला उद्यमीले उत्पादन गरेका हाँस तथा लोकल कुखुराका अण्डा, पिँडालु, भ्यान्टा, साग, फर्सी, उखु, लौका, खुर्सानीलगायतका अर्ग्यानिक तरकारीजन्य वस्तुहरू, मकैलगायतका खाद्यान्न विक्रीका लागि राखिएको छ । त्यस्तै, स्थानीय महिला उद्यमीले उत्पादन गरेका बेसार, चुक, अचार लगायतका वस्तु विक्रीका लागि राखिएको छ ।

नाना चाचाले स्थानीय महिला उद्यमीले उत्पादन गरेका वस्तुहरू बजारीकरण गर्ने, उत्पादित बस्तुको प्रचारप्रसार र बजारमा प्रतिस्पर्धा गर्ने, स्थानीय तथा रैथाने खाद्यवस्तुको संरक्षण र प्रवर्धनमा महिलाको उल्लेख्य सहभागिता गराउने लक्ष्य रहेको सञ्चालक मल्लले बताउनुभयो । नाना चाचाले प्रत्यक्ष स्थानीय उत्पादकसँग सहकार्य गर्दै दार्चुलाको बेसार, कैलालीको चुक, अचारलगायत रैथाने उत्पादनको बजारीकरण गरिरहेको र तिनै वस्तुहरूको प्रवर्धनका लागि हाटबजारमा राखिएको मल्लले बताउनुभयो । उहाँले सम्पूर्ण महिला उद्यमीलाई हाटबजारमा घरेलु उत्पादन भएका सामग्री बिक्री गर्न समेत आग्रह गर्नुभयो ।

आफ्नो एक्लो प्रयासले मात्र रैथाने वस्तुका उत्पादनलाई संरक्षण, संवर्धन र प्रवर्धन गर्न असम्भव हुने भन्दै मल्लले स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । महिला उद्यमीले आफूले उत्पादन गरेका रैथाने तथा घरेलु अर्ग्यानिक बस्तुहरू सिधै आफैँमार्फत उपभोक्तालाई विक्री गर्न सके बिचौलियाबाट बच्न सकिने उहाँको भनाइ छ ।

हाटबजारमार्फत उत्पादकले पनि आफ्नो उत्पादन सिधै उपभोक्तासँग पुर्‍याउन सक्ने र उपभोक्ताले पनि बिचौलियाबिना सरल मूल्यमा ताजा र अर्ग्यानिक वस्तु प्राप्त गर्न सक्ने उहाँको भनाइ छ ।

हाटबजारले स्थानीयस्तरमा रहेका रैथाने खाना तथा परिकार र कपडालाई संरक्षण एवं प्रवर्धन गर्दै रैथाने कृषि, कला सीप, प्रविधि, उद्यमशीलता विकास, युवा, महिला र विपन्न वर्गलगायत सबैलाई संलग्न गराउँदै रोजगार सिर्जना गर्न पहल गर्ने योजना बनाएको उहाँको भनाइ छ ।

नाना चाचाको आयोजना तथा रेष्ट्रो कप तथा नेपालगन्ज ग्यालरीको सहकार्यमा प्रत्येक शनिवार सुर्खेतरोडस्थित रेष्ट्रो कप परिसरमा रैथाने उत्पादनका लुगा कपडा तथा खाद्यवस्तुहरूको हाटबजार सञ्चालन गरिने सञ्चालक मल्लले जानकारी दिनुभयो ।

Next Post

१ सय १० अबैध ब्रोइलर कुखुरा बरामद

२०८० मंसिर २४, आईतवार १६:०६
नेपालगन्ज । भारतबाट अबैध रुपमा ल्याएको ब्रोईलर कुखुरा बरामद भएको छ । राप्तिसोनारी गाउपालिका वडा नं. ४ को कुमाउ गाउँमा सो अबैध कुखुरा बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलिले आइतबार करिव ६६ हजार बराबरको १ सय १० ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेलापारी कानुनी प्रक्रिया पुरा गरी […]