अगैयासम्म जाने सडकको स्तरोन्नति हुने

  ।   २०८० मंसिर १९, मंगलवार १६:१६

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी ३ नारायणपुरबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको अगैयासम्म जाने सडकको स्तरोन्नति हुने भएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले नेपालगन्जबाट राप्तीसोनारीको नारायणपुर हुँदै दाङ जोड्ने हुलाकी राजमार्गबाट अगैयासम्म जाने १६ सय मिटर सडकको चौडा र कालोपत्रे गरी स्तरोन्नतिको काम सुरु हुन लागेको बताउनुभयो । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जदेखि दाङको कालाकाटे जोड्ने सडकखण्ड अन्तर्गत राप्तीसोनारीको नारायणपुरसम्म सडक पूर्णरुपमा बनिसकेको र त्यहाँबाट १६ सय मिटर पूर्व उत्तरतर्फको पूर्वपश्चिम राजमार्गको अगैयासम्मको सडकको स्तरोन्नति गरी सडकलाई चौडा र कालोपत्रे गरिने पक्का भएको उहाँले जानकारी दिनुभयो । नारायणपुरबाट दक्षिण कुम्भर भुवरभवानी मन्दिर छेउँहुँदै हुलाकी राजमार्ग दाङको कालाकाटे निस्किने उहाँले बताउनुभयो ।

नारायणपुरबाट अगैयासम्म पुग्ने १६ सय मिटरको सडक अत्यन्तै जीर्ण, पुरानो र सानो भएका कारण स्थानीयले आफूसँग धेरैपटक गुनासो गरेको र आफूले पहल गरी सङ्घीय सरकार र सडक डिभिजन कार्यालयलाई अनुरोध गरेपछि सो सडक डिभिजन कार्यालयले चौडा र कालोपत्रे गरी स्तरोन्नति गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

“हुलाकी राजमार्गले नारायणपुरसम्मको सडक बनाएको छ, त्यहाँबाट हुलाकी राजमार्ग दाङ जानका लागि दक्षिणतर्फ मोडिन्छ,” सांसद नमुनाले भन्नुभयो, “त्यहाँबाट अगैयासम्म जाने १६ सय मिटर सडक सानो, पुरानो र जीर्ण अवस्थामा छ, स्थानीय जनता र सवारी साधनले सास्ती पाइरहेका छन्, जनताको गुनासो र मेरो पहलबाट सङ्घीय सरकार र सडक डिभिजनलाई अनुरोध गरेपछि उक्त सडक बन्ने पक्का भएको हो ।”

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीला भण्डारीले नारायणपुर–अगैया खण्डको सडक स्तरोन्नति हुने बताउनुभयो । केहिदिन अघि बाँके आउनुभएका सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि उक्त सडकको स्तरोन्नति गर्नका लागि निर्देशन पनि दिनुभएको उहाँले जानकारी दिनुभयो । सो सडक स्तरोन्नति गर्नका लागि मन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छ, मैले सर्वे गर्नका लागि टोली पनि पठाइसकेको छु, सर्वेपछि डिपिआर तयार गर्छौँ,” उहाँले भन्नुभयो, “सबै प्रक्रिया पुरा भएपछि सडकको स्तरोन्नतिको कार्य सुरु हुन्छ ।”

नारायणपुरदेखि अगैयासम्मको सो १६ सय मिटरको सडकखण्डको राप्ती नदीस्थित सिक्टाको बाँधसम्म र बाँधलाई छाडेर पारी अगैया बजारसम्मको सडकको स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो । “सिक्टा पुलसम्म पुग्न र सिक्टा पुलपारी गरेर २–३ सय मिटर अल्लि कन्जस्टेड छ, केही बस्ती छ,” उहाँले भन्नुभयो, “ती बस्तीलाई कानुनी रूपमा प्रक्रिया पुराई व्यवस्थापन गर्नका लागि गाउँपालिकालाई समन्वय गर्न अनुरोध गरेका छौँ ।”

नेपालगन्जदेखि राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको सडकको दुरी छोटो भएका कारण नेपालगन्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले उक्त सडक प्रयोग गर्दै आएका छन् । नारायणपुरसम्म बनेको हुलाकी राजमार्गसम्म आरामसँग पुग्ने सवारीसाधनहरू त्यहाँबाट अगैयासम्म पुग्न भने कष्ट भोग्दै आएका छन् । अब उक्त सडक खण्ड निर्माण हुने भएपछि थप सहज हुने अनुमान गरिएको छ ।

नेपालगन्जदेखि राप्तीपारी हुँदै अगैयासम्मको सडकको दुरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्वपश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दुरी छ । दुरी पनि छोटो पर्ने र बाँके राष्ट्रिय निकुञ्जको केही भागमा सवारी साधनलाई टाइमकार्ड लागु भएसँगै सवारी साधनहरूले अगैयासम्म पुग्नका लागि राप्तीपारीकै सडक रोज्ने गरेका छन् ।

Next Post

रोतो नम्बर प्लेटका इ-रिक्सा विरुद्ध कडाई

२०८० मंसिर १९, मंगलवार १६:१६
नेपालगन्ज । बाँकेको नेपालगंज क्षेत्रमा बढ्दो सवारी चापको अवस्थालाई ध्यान दिदै यात्रु बोक्ने रातो नम्बर प्लेटका इ–रिक्सा विरुद्ध सरोकारवाला निकायले कडाई गर्न थालेका छन् । नेपालगन्ज उपमहानगरका अनुसार नीति नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ वटा यात्रुबहाक इ–रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ–रिक्सालाई नेपाल […]