बाँकेको राप्तीसोनारीमा ग्रामीण आँखा केन्द्र संचालन हुने

  ।   २०८० मंसिर १४, बिहीबार १७:०२

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखा उपचारका लागि ‘ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आउनेभएको छ ।

राप्तीसोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएसँगै राप्तीसोनारी गाउँपालिका –४ बैजापुरमा आँखा केन्द्र सञ्चालनमा आउनेभएको हो ।

आँखा केन्द्र स्थापनाका लागि नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठान र गाउँपालिकाबीच पाँच वर्षका लागि सम्झौता भएको पालिकाले जनाएको छ । गाउँपालिका तर्फबाट पालिका अध्यक्ष तप्तबहादुर पौडेल र प्रतिष्ठानका तर्फबाट परियोजना व्यवस्थापक रवि गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ  । राप्तीसोनारी अस्पतालबाटै सेवा प्रवाह गर्नेगरी केन्द्र सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले एक महिनाभित्रै आँखा उपचार सेवा दिनेगरी पालिकाले प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलका अनुसार एकजना नेत्र सहायक र एकजना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी केन्द्रमा हुनेछन् । त्यसका लागि विज्ञापन खोल्ने तयारी पालिकाले गरेको छ । पहिलो वर्ष प्रतिष्ठान र पालिकाले कर्मचारीको तलवभत्ता ५०–५० प्रतिशत ब्यहोर्ने सहमति भएको छ । जनताको पहुँचमा पुग्न सक्नेगरी एकीकृत रुपमा आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यका साथ केन्द्र सञ्चालनमा ल्याउन लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो ।

आँखा केन्द्र पालिकाको स्वास्थ्य शाखाको एकीकृत स्वास्थ्य सेवाको अङ्गको रुपमा रहने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो । केन्द्र स्थापनाका लागि आवश्यक उपकरण तिलगङ्गा आँखा प्रतिष्ठानले खरिद गरेर केन्द्रको नाममा हस्तान्तरण हुनेगरी सम्झौता भएको उहाँले बताउनुभयो ।

सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने, आँखा केन्द्रमा पहिचान भएका मोतिविन्दुका बिरामीको लगत राखी तिलगङ्गा आँखा प्रतिष्ठानसँग समन्वय गरी शल्यक्रिया शिविरमा प्रेषण गर्ने, आँखा स्वास्थ्य कार्यक्रमलाई प्रवर्धन गर्न निरन्तर रुपमा समुदायको सहभागिता र सहकार्यलाई ग्राह्यता दिइने, आँखा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम केन्द्रबाट सञ्चालन गरिने पनि स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

केन्द्रबाट बिरामीको दृष्टि तथा चश्मा जाँच, विरामीको आँखासम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको सामान्य शल्यक्रिया, सर्वसुलभ मुल्यमा औषधि तथा चश्माको बिक्री वितरण, आँखा रोगसम्बन्धी आकस्मिक सेवा प्रवाह हुनेछ । स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउनेगरी पालिकाले स्वास्थ्य सेवालाई विस्तार गर्दैआएको अध्यक्ष पौडेलले बताउनुभयो । पािलकाभित्रै आँखा केन्द्रमा सञ्चालन आएपछि आँखाका बिरामीलाई उपचारका लागि अन्यत्र स्थान धाउनुपर्ने बाध्यता हट्ने विश्वास आफूले लिएको उहाँले बताउनुभयो ।

 

Next Post

नेपालगन्जमा इ-रिक्सा व्यवस्थापनमा कठिनाई

२०८० मंसिर १४, बिहीबार १७:०२
बाँके। नेपालगन्जमा सडक दुर्घटना बढाउने मुख्य कारणका रुपमा देखिएको यात्रुवाहक सवारीसाधन विद्युतीय रिक्सा व्यवस्थापन गर्न कठिन भएको छ । नेपालगन्जका सडकमा जभाभावी रुपमा जहाँत्यहीबाट विद्युतीय रिक्सा दौडिरहेको पाइन्छ । हजारौंको सङ्ख्यामा रहेका विद्युतीय रिक्सा दिनभरि कुनै खाली त कुनै एक दुई जना यात्रु मात्र बोकेर बजारका सडकमा यता र उता […]