नेपालगन्जका २३ वडा डिजिटलाइजेशन

  ।   २०८० कार्तिक २३, बिहीबार २०:३८

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज भएका छन । वडाहरुबाट हुने सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको हो । सार्वजनिक सेवाहरुको डिजिटलाइजेशनका लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गरिएको छ ।

नगर प्रमुख प्रशान्त विष्टले आज (विहिबार) एक कार्यक्रमका बीच घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गर्नुभएको हो । जिआइजेडको सहयोगमा वडाहरुबाट प्रवाह हुने सेवालाई डिजिटलाइज गरिएको हो । सुरुमा नेपालगञ्जका चार वटा वडामा मात्र पाइलटिङको रुपमा यी सेवा शुरु गरिएको थियो । सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर घनश्याम बर्माका अनुसार वडा नम्बर १, ४, १२ र २० मा सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको थियो । यी वडाहरुमा यी सेवा प्रभावकारी देखिएपछि सबै वडामा विस्तार गरिएको हो ।

सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले डिजिटलाइजेशनपछि अब हरेक वडामा जनताले छिटोछरितो र सहजरुपमा सेवा पाउने बताउनुभयो । उहाँले यी सेवा प्रवाहका लागि दक्षता अभिबृद्धि र सूचना प्रविधिसंग अभ्यस्त हुनुपर्ने आवश्यकता औंल्याउँदै जनशक्तिको दक्षता अभिबृद्धिका लागि बेलाबेलामा तालिम तथा अभिमुखीकरण आयोजना गर्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकालाई ‘पेपरलेस’ बनाउने अभियान अन्तर्गत वडाहरुको डिजिटलाइजेशन भएको बताउँदै उहाँले प्रविधिको क्षेत्रमा यो अर्को फड्को भएको उल्लेख गर्नुभयो ।

उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिकाले प्रवाह गर्ने सेवा डिजिटलाइज भएपछि आमनागरिकका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समयको बचतसंगै सेवा प्रवाहमा दुरुस्तता आउने पनि बताउनुभयो । जिआइजेडका नेपालगञ्ज प्रमुख निराजन सुवेदीले चार वटा वडामा प्रभावकारी देखिएपछि सबै वडामा विस्तार गरेर नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउन सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबीले आ–आफ्नो वडाको अनुभव सुनाउनुभएको थियो । डिजिटल साक्षरता भएका नागरिकका लागि यी सेवा अत्यन्त उपयोगी भएपनि डिजिटल निरक्षता भएकाहरुको पहुँचमा पुर्याउन चुनौतिपूर्ण रहेको उहाँहरुको अनुभव छ । कार्यक्रममा २३ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव लगायतको उपस्थिति रहेको थियोे । डिजिटल सेवा शुभारम्भ गर्न जिआइजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले २३ वटै वडाका वडा सचिव लगायत कर्मचारीहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि नै २३ वटै वडामा इन्टरनेटको पहुँच, अनलाइन सिफारिस प्रणाली, फ्रि–वाइफाई, सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण शुरु गरेर प्रविधिमा आफूलाई अपग्रेड गराउँदै लगेको सूचना प्रविधि इन्जिनियर बर्माले बताउनुभयो ।

Next Post

भुकम्प प्रभावितलाई प्रहरीको आर्थिक सहयोग

२०८० कार्तिक २३, बिहीबार २०:३८
नेपालगन्ज । नेपाल पूर्व प्रहरी सङ्गठन बाँकेले जाजरकोट र रुकुमपश्चिम्का भूकम्पबाट प्रभावितहरुलाई राहतस्वरुप आर्थिक सहयोग गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत् सङ्गठनमा आवद्ध सदस्यहरुबाट स्वस्फूर्त रुपमा सङ्कलन भएको ९१ हजार रुपैयाँको चेक भूकम्प पीडितलाई सहयोग उपलव्ध गराइएको सङ्गठनका बाँके अध्यक्ष पूर्व प्रहरी निरीक्षक गङ्गाबहादुर अधिकारीले जानकारी दिनु […]