कोहलपुर सहरी खानेपानी उपभोक्ता समितिको निर्वाचन

  ।   २०८० श्रावण १३, शनिबार १८:११

नेपालगन्ज । पाँच हजार बढी सदस्य सङ्ख्या रहेको बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा टेकनारायण भुसालले नेतृत्व गर्नुभएको लोकतान्त्रिक प्यानल विजयी भएको छ। आठ वर्षको अन्तरालपछि भएको निर्वाचनमा चार दलीय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारलाई पराजित गर्दै लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका हुन्।

अध्यक्ष पदमा भुसालले १२ सय १४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी रुद्र खनालले एक हजार १७ मत प्राप्त गर्नुभयो। त्यसैगरी स्वतन्त्र प्यानलबाट उठ्नु भएका विष्णु तिवारीले ३८२ मत प्राप्त गर्नुभयो।

त्यसैगरी लोकतान्त्रिक प्यानलबाटै उपाध्यक्षमा वीरबहादुर विष्ट ११ सय ४१, सचिवमा गोविन्द वाग्ले एक हजार ५६, कोषाध्यक्षमा ध्रुव आचार्य ११ सय ४३, सहसचिवमा बालकुमारी सापकोटा ११ सय ३४ र सहकोषाध्यक्षमा ईश्वरप्रसाद शर्मा ११ सय ६५ मतकासाथ विजयी हुनुभएको छ। सदस्यमा झग्गुप्रसाद वली ९९२, चक्रदीप शाह ९९६, आशा घर्ती मगरले ९९४ तथा महिला सदस्यमा दिपा कुमारी बस्नेतले ११ सय १६ र टिकादेवी सुनारले १ हजार ५२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ।

पाँच हजार २७७ मतदाता रहेको सो संस्थामा दुई हजार ८८७ मत खसेको थियो। शुक्रबार रातिबाट सुरु भएको मतगणना शनिबार दिउँसो सम्पन्न भएको हो। अध्यक्षमा विजयी हुनुभएका भुसालले संक्षिप्त प्रतिक्रिया दिँदै आठ वर्षपछि आएर अहिले निर्वाचन सम्पन्न भएकोले अस्तव्यस्त रहेको कोहलपुरको खानेपानीको व्यवस्थालाई आम उपभोक्ताका लागि सर्वसुलभ र सहज बनाइने बताउनुभयो। ( गोरखापत्रबाट )

 

Next Post

साहित्यकार स्वर्गीय मल्लको ८८औं जन्मजयन्ती कार्यक्रम सम्पन्न

२०८० श्रावण १३, शनिबार १८:११
सबिता चन्द नेपालगन्ज । साहित्यकार स्वर्गीय प्रेम प्रकाश मल्लको ८८औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ । स्व. मल्लको जन्मदिनको अवसरमा सो कार्यक्रम सनिवार नेपालगन्जमा गरिएको हो ।    जन्मजयन्ती कार्यक्रममा  ´प्रेम प्रकाश मल्ल मधुकर स्मृति` पुरस्कार २०८० समेत प्रदान गरिएको छ । ५१ हजार १ सय ११ राशिको सो पुरस्कार […]