
प्रेम विश्वकर्मा,
नेपालगन्ज । लुम्बिनी प्रदेशका २५ जना पत्रकारले कोभिड–१९ वीमा वापतको रकम पाएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको पहलमा शिखर इन्सुरेन्स मार्फत कोभिड संक्रमित पत्रकारले गरेको दावी अनुसार रकम प्रदान गरिएको हो ।
प्रदेश अध्यक्ष मौसम रोकामगरको कार्यकालमा जिल्ला शाखाको सिफारिसमा १२ वटै जिल्लाका पत्रकारहरूको जोखिमलाई मध्येनजर गर्दै कोभिड वीमा गरिएको थियो । जसमा ६ सय ३० जना पत्रकार थिए । कोभिड संक्रमित भएका ३१ जना पत्रकारको वीमा दाबी गरिएको थियो । जसमा २५ जनाले रकम प्राप्त गरेका छन । ६ जनाको प्रक्रिया मै रहेको जनाईएको छ ।
प्रदेश अध्यक्ष वसन्त गिरी नेतृत्वको अहिले नयाँ कार्य समिति आइसकेपछि कोभिड संक्रमित ८ जना पत्रकारलाई संम्बम्धित ठाउँमै पुगेर वीमा वापतको चेक रकम हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष यमनाथ घिमिरेले बताउनुभयो । उहाँका अनुसार सबै पत्रकारलाई १ लाखका दरले रकम उपलब्ध गराईएको छ ।
रकम निकासा हुन बाँकी भएकालाई प्रदेश महासंघ अथवा शिखर इन्सुरेन्सले प्रक्रिया अनुसार उपलब्ध गराउने कोषाध्यक्ष घिमिरेको भनाई छ । तथ्याक अनुसार लुम्बिनी प्रदेश भरीका १२ जिल्लामा १७ सयको हाराहारीमा पत्रकार, संञ्चारकर्मी छन ।
कोभिडको जोखिम कायमै रहेकाले सुरक्षा सावधानी अपनाउँदै जन केन्द्रित पत्रकारितामा लाग्न कोषाध्यक्ष घिमिरेले सबै पत्रकारलाई अनुरोध पनि गर्नुभयो । उहाँले सबै मिडिया हाउसले जोखिमको अवस्थालाई मध्येनजर गरी पत्रकारहरूको स्वास्थ सुरक्षालाई पहिलो प्राथामिकतामा राख्नु पर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले ल्याएको मिडिया विधेयकको विपक्षमा उभिन सबै श्रमजिवि पत्रकारलाई उहाँले आह्वान पनि गर्नुभयो । कोभिडले मिडिया हाउसलाई असर गरी राखेको परिस्थितिमा महासंघले मिडिया हाउसका लागी विभिन्न सहयोगका कार्यक्रमका लागी पहल गरिरहेको भन्दै उहाँले श्रमजिवि पत्रकारलाई काम बाट ननिकाल्न र थोरै भएपनि संकटका वेला कोभिड राहत उपलब्ध गराउन अपिल गर्नुभयो ।




