रविन हुड, हर्कुलस र स्पाइडरम्यानका नेपाली चेलुवा

  ।   २०८० कार्तिक २, बिहीबार २०:४०

भवानी बराल

कथाको सार:

उहिले नै उहिले धेरै नै पहिले बेलायतमा रविन हुडको खुब चर्चा हुन्थ्यो । सन् ११०० देखि सन् १६०० सम्म रविन हुडको कथा नजान्ने विरलै थिए । उतिबेला बेलायतका धनी सम्पन्न सामन्त जमिन्दारहरुले गरीबमाथि शोषण, उत्पीडनको उत्पात मच्चाएका थिए । भनिन्छ गरीबहरुमाथि जमिन्दारको अत्याचारले त्यसबखत सीमा नाघेको थियो । यस्तैमा गरीबहरुको पक्षमा मद्धतगार भएर एउटा पात्रको जन्म हुन्छ । उसको नाम हो रविन हुड ।

वाल्यकालसम्म रविन हुडले आफै जमिन्दारको अत्याचार खेपेका थिए । यसैले उनमा जमिन्दार विरुद्ध बदला लिने भावना सानैदेखि जागृत भएको थियो । त्यसैले युवा उमेर हुनासाथ जमिन्दारको सम्पत्ती लुटपाट गर्न थाले । र, लुटेको सबै सम्पत्ती गरीबहरुलाई बाँडि दिन्थे । रविन हुडको विद्रोहको बारेमा तिलस्मी कहानी किताबहरु ल्ेखिएका छन् । विलियम लिङलेण्ड नामका एक लेखकले ‘द भिजन पियर्स प्लोमेन’ शिर्षकको किताबमा रविन हुडले गरेको लुटपाटको कथा लेखे । रविन हुड बेलायतस्थित नाटिंघमको शेरबुड जंगलमा बस्थे र गाउँमा आएर जमिन्दारको सम्पत्ती लुट्ने गरेको कथा कथिएको थियो । बलिष्ठ र धनुकाँड चलाउन माहिर रविनले जमिन्दारमा कोकोहोलो नै मच्चाएका थिए । लुटेको सम्पत्ती बाँडेर गरीबको मसिहा नै भएका थिए ।

कथा अनुसार दावी गरिएका तिथीमिती मिल्दैन । यस्तै एउटा दावी अनुसार सन् १३७७ मा बेलायतको शेरबुड जंगलमा रविन हुड भेटिएको प्रसंग आउँछ । तर लगत्तै उनको जन्म सन् १६६० मा भएको अर्को दावी छ । यसरी रविन हुड नामको अनेक पात्र बनाएर शोषक जमिन्दारको विरुद्ध काल्पनिक मनोवैज्ञानिक आतंक सिर्जना गरेको हुनसक्छ । उनलाई हिन्दु धर्मशास्त्रका धनुर्धर अर्जुनसंग पनि दाँजिएको छ । रविन हुडले आफू जस्तै धनु विद्यामा पारंगत ‘मेरियन’ नामकी केटीसंग प्रेम विवाह गरेका थिए । बुढयौलीमा रविन हुड असाध्य रोगले थलिए । भनिन्छ मर्नुभन्दा केहि क्षण अगाडि उनले एउटा तीर दागे । जुन तीर खसेकै ठाउँमा उनलाई मरेपछि समाधिस्त गरियो ।

रविन हुड कसका सन्तान थिए । कुन जात विरादरीका थिए । कुनै अत्तोपत्तो छैन । उनी जन्मिएको दावी र विचरण गरेको समय पनि अनाकातान फरक छ । उनको कथामा आधारित दुई दर्जन बढी चलचित्र, अनेक डकुमेण्ट्री, नाटक रचिएका छन् । रिसर्च पेपर लेखिएका छन् । लाग्छ उनी कुनै मिथकीय पात्र हुन । रविन हुडको कथा यति नै हो ।

रविन हुडका नेपाली डमी
यो कथा यहाँ विना प्रसंग आएको हैन । पूर्व राजा ज्ञानेन्द्रका एक जना कारिन्दाले रविन हुडसंग मेडिकल व्यवसायी दुर्गा प्रसाइको तुलना गरेर सार्वजनिक अभिव्यक्ति दिएकाले हो । तिनका अनुसार राजावादीलाई लागेको छ दुर्गा प्रसाइ ढुंगा खोज्दा सिलाजित भेट्टाए सरह भएको छ । उनै प्रसाइले गएको फागुन १ गतेदेखि ज्ञानेन्द्र कै आतिथ्यमा ‘क्रान्ति’ ९वास्तविक भ्रान्ति० शुरुआत गरेका छन् । यसै सन्दर्भमा उनले अक्रामक ढंगले नेपालको वित्तीय व्यवस्थापनमा आएको समस्या उठाउँदै आएका छन् । नेपालको वित्तीय व्यवस्थापनमा देखिएको अव्यवस्था नौलो कुरो भने हैन । नीजि बैंक, सहकारी र लघुवित्तको आर्थिक अनुशासनहिनताको पराकाष्ठा नै छ । सहकारीको ठगी धन्दा त आम नै भैसकेको छ । लघुवित्तले जनताको उठीबास लगाएको फेहरिस्त कैरन गरेर साध्य छैन । वित्तीय संस्थाको चक्रवर्ती सरहको व्याज मिटर व्याजसरह छ भन्नु पनि अत्युक्ति हुन्न । यहि मुद्धालाई सिरानमा राखेर यतिखेर उनको एकल अभियान चलायमान छ । हुनतः उनले हिन्दु धर्मसापेक्ष, गणतन्त्रको खारेजी र राजतन्त्रको पुनस्थापनाको धर्म–राजनैतिक मुद्धा पनि उठाएका छन् ।

तर, उनको मुख्य अभीष्ट भने हिन्दु धर्मसापेक्ष राजतन्त्रको पुनस्थापना नै हो । अर्थात रुपमा बैंक, सहकारी, लघुवित्तको चक्रवर्ती शोषणबाट मुक्त गर्ने उद्वेश्य प्रसाइको देखिएपनि सारमा हिन्दु अधिराज्यको स्थापना हो । त्यो भन्दा महत्वपूर्ण आफ्नो व्यक्तिगत स्वार्थ पूर्ती गर्नु हो । आफ्नो क्रृण मोचन गराउने नाजायज उपक्रम हो । प्रसाइले खोलेको विर्तामोडस्थित वि एण्ड वी अस्पताल, क्यान्सर अस्पताल र होटल स्थापनार्थ लिएको अर्बौं क्रृणबाट मुक्त हुने दुस्वप्न होइन भन्न सकिन्न । दूर्भाग्य जनताको नेतृत्व गर्ने दलले जनताको समस्या अनदेखा गर्दिनाले यस्ता पात्रहरुको जन्म भएको हो । राजनैतिक दल जनताका दैनिकी देख्नबाट चुकेकै कारण प्रसाई जस्ताका अभियानले महत्व पायो । उनको आगतको सम्भावना र विगतको नियत नहेरी आत्मरतीमा वित्तीय संस्थाबाट उत्पीडित समुदाय लागेका छन् ।
अन्यथा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा राजनैतिक दलको मुख्य नेतृत्वको सयन कक्षमा प्रसाइको पहुँच पुगेकै थियो । आफ्नै भान्सामा मूख्य नेताहरुलाई भुजा ज्युनार गराउने क्षमता प्रसाइ राख्थे । यतिसम्म कि पछिल्लो समयमा उनी नेकपा ९एमाले० पार्टीको केन्द्रिय सदस्य थिए ।तर यति पहुँचले पनि उनको स्वार्थसिद्ध हुने नदेखेपछि ‘मर्ता क्या न कर्ता’ उनी न्वारानदेखिको बल निकालेर कुदेका हुन् ।

प्रसाईको व्यवसायिक जीवनको आरोह अवरोह नजान्ने देखिजान्ने, सुनी जान्ने विरलै होलान । कुनैबेला प्रसाइले भैंसी पालन व्यवसाय गरेका थिए । भैंसी पालन कै सिलसिलामा लिएको क्रृण ताकेता गर्दा सबै भैंसी फुकाएर बैंकको हाताभित्र हुलेर बैंक नेतृत्वलाई हावाकावा खेलाएको किस्सा झापामा प्रचलित नै छ । भैंसी उधारो खरिद गरेर भैंसी विक्रि गर्ने साहुलाई लखेटेको अर्को फण्डा पनि बनिबनाउ चर्चा नहुन सक्छ । अस्पताल बनाउँदा खरिद गरेको निर्माण सामाग्रीको वक्यौता नतिरेको त सञ्चारमाध्यममा व्यापारीले बारम्बार कैरन गरेको सार्वजनिक नै छ । टाढा बस्नेको लागि प्रसाई माओवादीमा लागेको मिसाल लाग्न सक्छ । तर प्रसाई माओवादीमा निहित उद्वेश्यका लागि लागे जस्तो गरेका हुन । उनको विगत जान्ने नजिकका सम्बन्धितहरु नीजि स्वार्थको लागि हो भन्ने जगजाहेर छ ।

प्रसाईले बैंक, सहकारी, लघुवित्तको शोषणलाइ सार्वजनिक जानकारी र सतहमा ल्याएर राम्रो काम भने गरेका हुन । यसरी नै राजस्वमारा, करमारा, माफिया केही व्यवसायिक घराना, भ्रष्ट राजनीतिज्ञको पोल खोलेर राम्रो गरेका छन् । पोल खोलेकै कारण उनीमाथि अभद्र व्यवहार पनि भयो ।

मर्ने बेलामा सिन्कोको पनि सहारा हुन्छ भन्ने त प्रख्यातै छ । प्रसाई जे जस्तो हुन सुगाले मानिसको बोली टिपे पनि सान्तवना हुन्छ भनिन्छ । प्रसाईको वर्तमान भूमिका यति नै हो । वित्तीय संस्थाबाट पीडित समुदाय यसैकारण जे जस्तो संख्यामा होस उनको अभियानमा सहभागि भएकै छन । जोगी, ढोंगी, कथित चमत्कारी बाबाहरुको पछि लाग्ने लस्कर भेटिने हाम्रो समाजमा प्रसाइको पछि लाग्नुलाइ अनौठो मान्नु पनि हुन्न ।

रहलपहल

बिडम्बना जनताको यावत समस्याबाट राजनैतिक दल, नेता बेखबर छन् । अनेक भाँतीका कुकर्म, अनियमितता, भ्रष्टाचार, बेथितिले घर गरेको समयमा प्रसाइको कलाविहीन नाटक मञ्चन भएको हो । प्रसाइको यो अभियानले पीडितलाइ न्याय दिने, उन्मुक्ति दिने वा यथार्थ निश्कर्षमा पुर्याउने शतप्रतिसत सम्भावना छँदैछैन । प्रसाँई उनले भनेजस्तै कुनै भुँइमान्छे, सर्वहारा वर्गको मुक्तिदाता बिल्कुलै होइनन् । उनको वर्गीय आधार र चरित्रले पनि भुँइमान्छे र सर्वहाराको प्रतिनिधित्व गर्ने अनुमति दिँदैन । उनी बेलायती मिथकीय पात्र रविन हुड, ग्रिक मिथकका हर्कुलस र आधुनिक समयका अमेरिकन कमिक्सका पात्र स्पाइडर म्यान पनि होइनन् । यस्तो मिथक पात्रको प्रतिनिधित्व कल्पनाको संसारमा मात्र हुन्छ । वास्तविक भौतिक संसारमा हुँदैन । अलौकिक संसारमा मात्र होला । उनी बेलायती रविन हुड, ग्रिक मिथकका हर्कुलस र अमेरिकी कमिक्सका स्पाइडर म्यानका कल्पनाका नक्कली डमी हुन् । वर्तमानमा उनको अभियानमा हेलिँदा आत्मरति वा मुतको न्यानो त होला । तर, समयमा हातमा लाग्यो सुन्ना नै हुनेछ । न भुतो न भविष्यति ।  (झिल्को डटकमबाट)

[email protected]

Next Post

ढुक्कसँग चाडपर्व मनाउन सद्भाव समितिको अपिल

२०८० कार्तिक २, बिहीबार २०:४०
नेपालगन्ज । सद्भाव समिति बाँकेले नजिकिदै गरेका आ–आफ्ना समुदायका चाडपर्वहरु ढुक्क भएर मनाउन अपिल गर्दै आउदै गरेको आसन्न नवरात्री, वडादसैं, दिपावली, छठजस्ता महान राष्ट्रिय पर्वको अवसरमा सम्पूर्ण धर्मावलम्बी समुदायप्रति शुभकामना समेत प्रकट गरेको छ । यस्तै बिहीवार बसेको जिल्ला प्रशासन कार्यालय बाँकेका सुरक्षा समितिका पदाधिकारीसहितको सद्भाव समितिको बैठकले बाँकेबासीलाई निश्चिन्त […]