जिल्ला हुलाक बाँकेले यसरी मनायो विश्व हुलाक दिवस

  ।   २०८० आश्विन २३, मंगलवार २०:४०

नेपालगन्ज । विश्व हुलाक दिवसको अवसरमा सोमबार जिल्ला हुलाक कार्यालय बाँकेले विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ ।कार्यालयमा सेवाग्राहीलाई स्वागत, वृक्षरोपण तथा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मानलगायतका कार्यक्रम गरी दिवस मनाइएको कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

कार्यालयमा प्रथम आउने दुई जना सेवाग्राहीलाई अबिर खादासहित स्वागत गरिएको तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायत हुलाकका कर्मचारीले जिल्ला हुलाक कार्यालयको परिसरमा आँप, लिची, अम्बा, जामुनका साथै विभिन्न प्रकारका फूलहरू रोपिएको प्रमुख पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा समन्वय समिति प्रमुख चौधरीले हुलाकलाई आधुनिकीकरण गर्नुपर्ने र अतिरिक्त हुलाकका कर्मचारीलाई उचित सेवा सुविधा दिनुपर्ने बताउनुभयो । बाँकेका प्रजिअ विपिन आचार्यले संसारभरका दुई सयभन्दा बढी देश सदस्य रहेको विश्व हुलाक सङ्गठन भरपर्दो निकाय भएको बताउनुभयो ।

अतिरिक्त हुलाक सङ्घ बाँकेका सचिव जयपाल मौर्यले अतिरिक्त हुलाक खारेज नगरेर यसलाई थप काम दिएर सञ्चालन गर्नुपर्ने बताउनुभयो । हुलाक कार्यालय प्रमुख पाण्डेले नेपाल सरकारले हुलाकलाई पुनर्संरचना गर्ने नीति लिएको जानकारी दिनुभयो । हाल हवाई द्रुत सेवा सञ्चालन गरेको, सञ्चार गृह तथा सञ्चारकर्मीसम्बन्धी दर्ता नवीकरण, लोककल्याणकारी विज्ञापन व्यवस्थापन, राहदानी ढुवानीलगायतका कामको सुरुवात गरेको उहाँले बताउनुभयो । आगामी दिनमा इकमर्स, बिमा सेवाका साथै होम कलेक्सन र डेलीभरीको काम समेत गरेर अघि बढ्ने योजना रहेको प्रमुख पाण्डेले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी तथा बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्ला हुलाक कार्यालय बाँके र मातहतमा रहेर उत्कृष्ट काम गर्ने खरिदार क्लेशकुमार मौर्य, हल्कारा मन बस्नेत, हुलाकी महेशकुमार यादव, बनकटवाका हुलाक प्रतिनिधि इन्द्रा आचार्य, नौवस्ताका पत्र वितरक तथा कम्दीका पत्र वितरक विष्णुप्रसाद कुर्मीलाई माला खादासहित सम्मानपत्र प्रदान गर्नुभयो ।

Next Post

अतिरिक्त महानिरीक्षक श्यमलाल ज्ञवालीद्वारा लुम्बिनी प्रदेश अस्पतालको अनुगमन

२०८० आश्विन २३, मंगलवार २०:४०
नेपालगन्ज । प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले नेपालगञ्जमा रहेको प्रहरीको लुम्बिनी प्रदेश प्रहरी अस्पतालको अनुगमन गर्नुभएको छ । एआइजी ज्ञवालीले मङ्गलबार अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. अमिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । एआइजी […]