नेपालगन्ज । प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले नेपालगञ्जमा रहेको प्रहरीको लुम्बिनी प्रदेश प्रहरी अस्पतालको अनुगमन गर्नुभएको छ ।
एआइजी ज्ञवालीले मङ्गलबार अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. अमिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । एआइजी ज्ञवालीले अस्पतालको सम्पूर्ण गतिविधि, भौतिक पूर्वाधारको अवस्था, अस्पताल व्यवस्थापनको अनुगमन तथा निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीलाई भेटघाट गर्नुभएको अस्पताल प्रमुख डा. श्रेष्ठले बताउनुभयो । सो अवसरमा एआइजी ज्ञवालीले अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा हाल १५ बेड रहेको र बिरामीको अत्यधिक चाप हुने भएकाले अस्पताललाई स्तरोन्नति गरी ५० बेडसम्मको सेवा प्रदान गर्नका लागि व्यवस्था मिलाइदिन एआइजी ज्ञवालीसमक्ष अनुरोध गरेको डा. श्रेष्ठले बताउनुभयो । औषधि, दक्ष प्राविधिकलगायत अस्पताललाई आवश्यक अन्य पक्षको व्यवस्थापन मिलाइदिनका लागि समेत एआइजी ज्ञवालीसमक्ष अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । २०५५ सालमा स्थापना भएको उक्त अस्पतालले बहालवाला तथा भूतपूर्व प्रहरी र प्रहरी परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्दैआएको छ । हाल १५ बेडमा सञ्चालित अस्पतालले २४ घण्टा इमर्जेन्सी सेवा, प्याथोलोजी, ओपिडी, आईपीडी, एक्सरे, डेन्टल, हाडजोर्नी, फिजिसियन, नाक कान घाँटीलगायतका सेवाहरू प्रदान गर्दै आइरहेको अस्पताल प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीसहित लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेशराज जोशीसमेतको टोलीले अस्पतालको अनुगमन तथा निरीक्षण गरेको अस्पतालले जनाएको छ ।