नेपाल र जर्मनबिच श्रम सम्झौता हुँदै

  ।   २०८० आश्विन २३, मंगलवार १३:४०

नेपालगन्ज । नेपाल र जर्मनीबीच मंगलबार श्रम सम्झौता हुनेभएको छ । श्रम सम्झौताका लागि श्रममन्त्री शरत्‌सिंह भण्डारी नेतृत्वको टोली जर्मनी पुगिसकेको छ।

जर्मनीसँगको श्रम सम्झौताका क्रममा श्रमिक भर्ना प्रक्रिया अघि बढाउने, सामाजिक सुरक्षाका कार्यक्रममा सहभागी गराउने र मौसमी श्रमिक भर्ना प्रक्रियालाई छिटो–छरितो बनाउने जस्ता विषयमा छलफल हुनेछ। जर्मनीमा अदक्ष ओपेअर (घरेलु सहयोगी) देखि कृषि तथा औद्योगिक क्षेत्रमा दक्ष र उच्च दक्ष कामदार लैजानेबारे सम्झौता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सम्झौता अनुसार जर्मनीमा प्रशिक्षार्थी श्रमिकका रूपमा गएर एक वर्ष त्यहाँ सीपमूलक तालिम लिएपछि मात्र श्रम बजारका लागि योग्य हुनेछन्।

नेपालबाट अहिले अदक्ष, अर्धदक्ष कामदार धेरै गइरहेकामा यस सम्झौतासँगै बिस्तारै दक्ष कामदारको सङ्ख्या बढ्ने अपेक्षा रहेको श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले बताए। जर्मनीमा मासिक ६ सय युरो (झण्डै ८४ हजार रुपैयाँ) पाउने गरी सम्झौता हुन लागेको हो।

नेपालले यसअघि १९ असोजमा पूर्वी युरोपेली देश रोमेनिआसँग श्रम सम्झौता गरेको थियो। रोमेनिआमा अहिले नै कम्तीमा पाँच सय युरोको सम्झौता भएको छ। रोमानियामा अहिले १५ हजार नेपाली कामदार रहेको तथ्यांक छ। नेपाल सरकारले हालसम्म मलेसिया, कतार र कोरियासहित नौवटा देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ।

नेपालबाट विभिन्न एक सय ११ देशमा संस्थागत रूपमा कामदार जाने गरे तापनि द्विपक्षीय श्रम सम्झौता नभएका कारण नेपालीहरू श्रमिकले पाउने कतिपय हक र अधिकारबाट वञ्चित हुँदै आएका छन्।

Next Post

रकम असुली गरेको आरोपमा ३ जना पक्राउ

२०८० आश्विन २३, मंगलवार १३:४०
नेपालगन्ज । सेवाग्राहीहरुसँग रकम असुली लिएको आरोपमा राष्ट्रिय भूमि आयोगको ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले झापामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका घर भएका मोहन नेपाल, दोलखाका विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका–८ का कमल खनाल रहेका छन । उनीहरू आयोगबाट हाल्दिबारी […]