धानमा बेरुवा खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै, किसान चिन्तित

  ।   २०८० आश्विन २२, सोमबार १२:३६

नेपालगन्ज । बाँके र बर्दियामा लगाइएको धान खेतीमा बेरुवा, खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् ।

बाँके र बर्दिया जिल्लालाई हेर्दैआएको कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार बाँके र बर्दियाका केही पालिकामा धानखेतीमा सो समस्या देखिएको हो । कृषि ज्ञान केन्द्र नेपालगन्जका बागवानी अधिकृत रामप्रकाश यादवले अहिले आएर धान खेतीमा नयाँ किराको प्रकोप देखिएपछि किसानलाई चिन्तित बनाएको बताउनुभयो ।  उहाँले बाँकेको डुडुवा गाउँपालिकाको कम्दीमा बेरुवा किराको सङ्क्रमण धेरै देखिएका छन् । धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति गरेको यादवको भनाइ छ । यसलाई समयमा नै नियन्त्रण नगरे थप क्षति हुने सम्भावना छ ।

यसैगरी बाली संरक्षण प्रयोगशाला खजुराका प्रमुख उमाशङ्कर पौडेलले बर्दियामा लगाइएको धान खेतीमा खैरे थोप्लो र सेतो झिँगाको प्रकोप देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको गेरुवा गाउँपालिका, ठाकुरबाबा र बाँसगढी नगरपालिकामा खैरे थोप्लो र सेतो झिँगाको समस्या देखिएको छ ।

प्रमुख पौडेलले रोग र किराको समस्या देखिएको स्थानमा रोग नियन्त्रणका उपायबारे किसानलाई जानकारी दिने काम भइरहेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका अनुसार यसअघि नेपालगन्ज उपमहानगरपालिका आसपास, डुडुवा लगायतका क्षेत्रमा गबारोको समस्या देखिएको थियो ।

Next Post

माओवादी केन्द्रले पठाएको पत्रलाई लिएर समाजवादी पार्टिमा विवाद जारी

२०८० आश्विन २२, सोमबार १२:३६
नेपालगन्ज । नेपाल समाजवादी पार्टीसँग एकीकरणको विषयमा माओवादी केन्द्रले पठाएको पत्रलाई लिएर समाजवादी पार्टीमा भैरहेको विवाद जारी नै रहेको छ । समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले पत्र नै नपाएको भन्दै एकीकरणका लागि इच्छुक देखिनुभएको छैन । माओवादीले समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएको विषयलाई लिएर भट्टराईले चित्त […]