परस्पुर-गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु

  ।   २०८० आश्विन २१, आईतवार १२:१७

नेपालगन्ज । निर्माणको ठेक्का पाएर सम्झौता गरेको पनि झण्डै डेढ बर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको परसपुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा २ सीतापुर जोड्ने परसपुर–गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण कार्य सुरु गरिएको छ ।

ठेकेदार कम्पनीले सम्झौता भएको १६ महिनापछि शुक्रबारका दिनदेखि परसपुर–गौघाट सडक खण्डमा सुरुआती चरणमा खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको खजुरा गाउँपालिका २ का वडाअध्यक्ष धनराम ओलीले जानकारी दिनु भएको छ ।

चाडबाडको समयमा जनतालाई ओहोरदोहर गर्न दुःख नहोस भनेर पहिलो चरणमा खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको ठेकेदार कम्पनीले तत्काल माटो पटान गर्न कठिन भएको र त्यो काम दशैंपछि बाट सुरु गर्ने तथा सम्झौता अनुसार समयमै निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडी बढाउने प्रतिवद्धता गरेको वडाअध्यक्ष ओलीले जानकारी दिनु भएको हो ।

अध्यक्ष ओलीले आफुहरु निर्वाचित भएर आएपछि परसपुर–गौघाट सडक खण्डलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । ‘ठेक्का भएर पनि समयमै काम सुरु हुन सकेन । यसले जनतालाई थप दुःख भोग्नु परेको छ । जनताको समस्या बुझेर हामीले सम्बन्धित निकायलाई पटक–पटक दबाब दिने काम गरेका छौं । शुक्रबारबाट काम सुरु भएको छ । यो खुसी कुरा हो । अब समयमै यो निर्माण कार्य सम्पन्न होस भन्ने हामी चाहन्छौँ।’ उहाँले भन्नू भयो ।

करिब १० किलोमिटर सडक कालोपत्रे निर्माणका लागि कन्काई/गणपति जेभीले भ्याट र पिएससहित १३ करोड ४३ लाख रुपियाँमा निर्माणको जिम्मेवारी पाएको कम्पनीले अघिल्लो वर्ष वैशाख २५ गतेदेखि सडक निर्माण कार्य सुरु गरी २०८१ भदौ २५ गते निर्माण कार्य सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय नेपालगञ्जसँग सम्झौता गरेको थियो ।

सडक डिभिजन कार्यालय नेपालगन्जले ठेकेदार कम्पनी सम्पर्कमा नआएको हुनाले काम सुरु हुन नसकेको बताउँदै आएको थियो । समयमै निर्माण सुरु गर्नका लागि त्यस क्षेत्रका जनप्रतिनिधीहरु र स्थानीयले सडक डिभिजन कार्यालयलमा गएर दबाब समेत दिँदै आएका थिए ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो । यो सडकलाई बर्दियाको कण्ठपुर हुँदै गुलरिया सडकखण्डमा जोड्ने योजना रहेको छ ।

Next Post

निजामती कर्मचारीहरुले गरे कोहलपुर नगरमा आन्दोलन

२०८० आश्विन २१, आईतवार १२:१७
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा निजामति कर्मचारीहरुले नगरपालिकाको परिसरमा आन्दोलन गरेका छन । प्रस्तावित संघिय निजामति सेवा ऐनमा समावेश भएका १२ बुँदे माग सहित आन्दोलन गरेका हुन । तत्काल मागहरु संशोधन नभएसम्म आन्दोलन जारी राख्ने भन्दै शुक्रबारदेखि धर्ना दिँदै सरकारी कामकाज ठप्प राखेका छन् । कोहलपुर नगरपालिकाका संघर्ष समितिका संयोजक […]