नेपालगन्ज । जिल्ला प्रशासन कार्यालयले सामाजिक सद्भाव बिग्रिने गरी कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सञ्चार सामग्रीको प्रचारप्रसार नगर्न नगराउन अनुरोध गरेको छ ।
प्रशासनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिग्रिने गरी कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सञ्चार सामग्रीको प्रचारप्रसार नगर्न नगराउन अनुरोध गरेको हो । प्रशासनले नेपालगञ्जमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरु प्रभावकारी एवम् समन्वयात्मक रुपमा परिचालन गरिएको जनाएको छ ।
मङ्गलबारको प्रदर्शनका क्रममा सुरक्षा अवस्था नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीबाट सामान्य बल प्रयोग भएको र उक्त झडपमा परी पाँच सुरक्षाकर्मीसहित २२ जना घाइते भएको बाँके प्रशासनले जनाएको छ । २१ जना घाइतेहरुको विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार पश्चात घर फर्किसकेका र एक जना सर्वसाधारणको भेरी अस्पतालमा उपचार भइरहको प्रशासनले जनाएको छ ।
जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजलगायत आम नागरिकबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न अहम् भूमिका हुने भन्दै सबैले सहयोग गर्नसमेत बाँके प्रशासनले आग्रह गरेको छ ।
बाँके प्रशासनले नेपालगञ्जमा मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।