कानुनी पहिचानका लागि सामुदायिक सचेतना

  ।   २०८० आश्विन ४, बिहीबार २१:३६

नेपालगन्ज ।  मधेश तथा ग्रामीण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई बुझाउनुपर्ने भन्दै सामुदायिक सचेतना कार्यक्रम सुरु गरिएको छ । मधेश समुदायका नागरिकले काम परेपछि मात्र नागरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, सम्बन्ध विच्छेद, बसाइसराइ दर्ता गराउने भएकाले समयमै दर्ता गराउने कार्यमा स्थानीय तहको भूमिका प्रभावकारी बनाउनुपर्ने विषयमा अभिमुखीकरण गरिएको छ ।

महिला कानुन र विकास मञ्च तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्वारा बुधबार बाँकेको जानकी–२ बेलभारमा कानुनी पहिचान (नागरिकता र जन्मदर्ता) सामुदायिक सचेतना कार्यक्रमका सहभागीहरूलाई नागरिकता लगायतका विषयमा अभिमुखीकरण गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीले नेपाली नागरिकको वैधानिक पहिचानका लागि नागरिकता बनाउनुपर्ने भन्दै संविधानले व्यवस्था गरेको मौलिक हकलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको संविधान एउटा समावेशीमूलक संविधान भएकाले यसको अध्ययन र प्रयोग सबैले गरेपछि मात्र यसको उपलब्धि देखिने भन्दै सांसद तिवारीले कानुनी जटिलता लगायतका विषयमा सुझाव दिन समेत आग्रह गर्नुभयो । उहाँले ग्रामीण समुदायमा अझै पनि महिलाहिंसा जस्ता विभिन्न घटनाहरू बढिरहेकाले त्यस्ता घटनालाई बाहिर ल्याई कानुनी उपचारमा जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले नागरिकको पहिलो पहिचान नै नागरिकता भएकोले नेपालमा जन्मिएका सबैले नागरिकता बनाउनुपर्ने आग्रह गर्दै नेपालको संविधानले नागरिकता सम्बन्धी गरेको व्यवस्थालाई सम्बन्धित निकायले अझै पनि कार्यान्वयन नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आमाको नामबाट नागरिकता दिने भनेर कानुनले व्यवस्था गरेको तर स्थानीय प्रशासनले सहज रूपमा नदिएपछि अदालत जानुपर्ने अवस्था रहेको बताउनुभयो । वरिष्ठ अधिवक्ता श्रेष्ठले नागरिकता लगायतका कानुन प्रक्रिया सबैले तत्काल बनाउनुपर्नेमा जोड दिँदै नागरिकता सम्बन्धी कुनै समस्या भएमा संस्थामार्फत आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।

वडा नं. ४ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले वडाले नागरिकता लगायतका कानुन प्रक्रिया पुगेकालाई विभिन्न सिफारिसहरू सहज रूपमा उपलब्ध गराउँदै आएको भन्दै स्थानीय नागरिकहरूलाई यसबारे सचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा कानुनी पहिचान नागरिकता र जन्मदर्ताका बारेमा अधिवक्ता विश्वजित तिवारी र पत्रकार राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो ।

Next Post

संविधान कार्यान्वयन नभएको गुनासो

२०८० आश्विन ४, बिहीबार २१:३६
नेपालगन्ज ।  संविधान निर्माण भए पनि कार्यान्वयनमा सरकारले ध्यान नदिएको सरोकारवालाले गुनासो गरेका छन् । नेपालगन्जका नागरिक अगुवाहरूले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । संविधान दिवसको अवसरमा नेपाल प्रेस युनियन बाँके शाखाले बुधबार नेपालगन्जमा आयोजना गरेको ‘संविधान कार्यान्वयनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले सो ध्यानाकर्षण गराएका हुन् । संविधान […]