मनसुन अझै केही दिन सक्रिय रहने

  ।   २०८० श्रावण २६, शुक्रबार १४:४१

संवाददाता, नेपालगंज ।

मनसुन अझै केही दिन सक्रिय रहने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तर्फ नेपाल नजिक रहेकाले मनसुन अझै सक्रिय रहने देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मध्यान्न १२ बजे जारी गरेको मनसुन बुलेटिनमा उल्लेख विवरण अनुसार शनिबार देखि सोमबार सम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ ।

  • जारी मनसुन बुलेटिन हेर्नुहोस यस्तो छ ।

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको विहारको उत्तर पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को पनि प्रभाव रहेको छ । आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । यसको प्रभावले शनिबार (मिति २०८०–०४–२७) राती देशभर सामान्य देखि पूर्णतया बदली रहि देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षा तथा एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार (मिति २०८०–०४–२८) देशभर पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । सोमबार (मिति २०८०–०४–२९) देशभर सामान्य देखि पूर्णतया बदली रहि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तसर्थ शनिबार देखि सोमबार सम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, शहरी क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।यस मनसुनी प्रणालीहरूलाई जल तथा मौसम विज्ञान विभागले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ । तसर्थ दैनिक रुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित हेर्न अनुरोध छ ।

Next Post

घरमा चोरी गरिरहेकै अवस्थामा पक्राउ परे नेपालगंज १२ का अजिर अहमद भाट

२०८० श्रावण २६, शुक्रबार १४:४१
संवाददाता, बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ का ३७ बर्षिय अजिर अहमद भाट चोरी गरिरहेको अवस्थामा पक्राउ परेका छन । २४ साउन बिहान ३ बजेको समयमा बैजनाथ गाउँपालिका ५ मा पर्ने स्थानीयका घरमा चोरी गरिरहेको अवस्थामा उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनको साथबाट […]